दशैँको सरगर्मी गाउँमा बढ्यो
- ११ आश्विन २०७४, बुधबार
- 2489 पटक पढिएको
म्याग्दी, ११ असोज । हिन्दू नेपालीको महान् पर्व दशैँ नजीकिएसंगै चाडपर्वको सरगर्मी बढेको छ । दशैँलाई लक्षित गरि दैनिक उपभोग्य सामान तथा लत्ताकपडाहरु खरिद गरि सर्वसाधारणहरु बजार क्षेत्रबाट गाउँ फर्कन थालेका छन् । विविध कारण आफ्नो जन्मथलोबाट शहरी क्षेत्र तथा प्रवासमा रहेकाहरु समेत गाउँ फर्कन थालेपछि ग्रामीण क्षेत्रमा दशैँको चहलपहल बढेको हो ।
चाडपर्व मनाउन सर्वसाधारण गाउँ फर्कन थालेपछि शहरी क्षेत्रमा चहलपहल न्युन भएको छ । दशैँको लागि आबश्यक पर्ने सामाग्री सर्वसाधारणले खरिद गरिसकेका छन् । समयमै बर्षात नरोकिनु, ग्रामिण सडक नखुल्नु जस्ता कारणले बिगतको दशँैको जस्तो यो बर्ष दशँैका पुर्वसन्ध्यामा कारोबार सन्तोष जनक नरहेको व्यवसायिहरुको भनाई छ । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवन बहादुर विश्वकर्माले मनसुन जारी रहनु, तराईको बाढी पहिरो, निर्वाचन लगायतको कारण विगतका बर्षको चाडपर्वको सिजनको तुलनामा अहिले समग्रमा करिब २५ प्रतिशत कारोवारमा गिरावट आएको बताउनुयभो । ‘‘ बजारमा सोचेजस्तो चहलपहल हुन सकेन, बर्खाको समयपछि बढी कारोबार हुने सिजन यहि हो तर बजारमा चहलपहल नहुँदा व्यवसायिहरु चिन्तित छन,’’–अध्यक्ष विश्वकर्माले भन्नुभयो ।
ग्रामीण भेगबाट सदरमुकाम तथा पोखरा, काठमाण्डौ लगायतका ठुला शहरहरुमा अध्ययन गर्न र बालबच्चा बढाउन झरेका हरु दशैँ विदासंगै गाउँ फर्कन थालेका छन भने रोजगारि, अध्ययन र व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेकाहरु समेत चाडपर्व मनाउन घर फर्कन थालेका छन् । दशैँ र तिहार लगायतका पर्वहरुलाई प्रमुख चाडपर्वको रुपमा मनाउने परम्पराले बर्षभरी काम बिशेषले गाउँघरबाट टाढा रहेकाहरु समेत आफ्नो पुख्र्यौली थलो फर्कने गर्छन् । दशैलाई राम्रो लगाउने र मिठो खाने पर्वको रुपमा समेत लिने गरिन्छ । चाडपर्वको समयमा व्यक्तिगत तथा घरखर्च समेत बढी हुने भएकाले रोजगारिको शिलसिलामा प्रवासमा रहेकाहरुले पठाउने पैसा झिक्नेहरुको समेत पछिल्लो साता भिडभाड भएको थियो । चाडपर्वको समयमा मासुजन्य पदार्थको खानपिन बढी हुँदा स्वास्थ्यमा समस्या आउने भन्दै स्वास्थ्यकर्मीहरुले खानपिनमा विशेष ध्यान दिन सुझाब दिन्छन् । अहिले हिमाली जिल्ला मुस्ताङबाट निकासी भएर आएका भेडाच्याङ्ग्राहरु गाउँदेखि शहरसम्म खरिद विक्रि भईरहेका छन् । बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो । विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेर स्थानीय व्यवसायिहरुबाट भेडाच्याङ्ग्रा खरिद गरि ल्याएका हुन् । बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ । दशैँ तिहारको समयमा मासुका लागि भेडाच्याङ्ग्राको माग हुने गर्छ । हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिने भएकाले दशैँ तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ ।