म्याग्दीमा “प्रहरी हाम्रो टोलमा” अभियान सुरु
- ६ आश्विन २०७४, शुक्रबार
- 2401 पटक पढिएको
बेनी ६ असोज । म्याग्दीमा शुक्रबारदेखि “प्रहरी हाम्रो टोलमा” अभियान सुरु भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा “शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन” भन्ने नारा सहित अभियान सुरु गरिएको हो ।गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गचित्र २०७४ अन्तरगत समुदाय स्तरमा प्रहरी सेवाको पहुँच विस्तार, नागरीक केन्द्रित प्रहरी सेवा, अपराध तथा विकृती न्युनीकरणका लागि नागरीक, प्रहरी र प्रशासनको सहकार्य बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।
प्रनाउ खड्काका अनुसार अभियान अन्तरगत सामाजिक अपराध, दुब्र्यसनी, दुर्घटना र विकृती नियन्त्रणका लागि टोल स्तरमा सरोकारवालाहरुसंग सहकार्य, चेतनामुलक कार्यक्रम, प्रत्येक स्थानीय तहमा वर्षमा २ पटक घुम्ती शिवीर सञ्चालन लगायतका गतिबिधी गर्ने योजना रहेको छ ।
अभियान सञ्चालन गर्नका लागि म्याग्दीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय संयोजन समिति गठन भएको छ । अभियान उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले प्रहरी प्रशासन एक्लैले शान्ति सुरक्षा अमन चयन कायम गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
प्रजिअ अधिकारीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले अभियानले नागरीक, प्रहरी, प्रशासनको सम्बन्ध सुधारसंगै शान्ति सुरक्षा सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।