बेनी नगरपालिकामा एकिकृत सम्पत्ती कर लागू गर्ने तयारी
- २ आश्विन २०७४, सोमबार
- धिरन खत्री
- 2065 पटक पढिएको
म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५७६देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ । एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ ।
नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा कार्यपालीका सदस्य कृष्णकुमार विश्वकर्मा, कार्यकारी अधिकृत विश्वामित्र कुईकेल, उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, ईञ्जिनियर बिमलरञ्जन कार्की, मालपोत कार्यालयका प्रतिनिधि र नगर प्रमुखले नियुक्त गर्ने एक सदस्य रहेको सम्पत्ती मूल्याङकन समिति गठन भएको छ ।२०७५ साउन १ गतेदेखि एकिकृत सम्पत्ती कर संकलन सुरु गर्ने लक्ष्य सहित कार्ययोजना अनुसार तयारी सुरु गरिएको नगर प्रमुख श्रेष्ठले सोमबार आयोजित सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिए ।
“एकिकृत सम्पत्ती करको बारेमा नगरबासीलाई जानकारी गराउनेसंगै विभिन्न प्रक्रिया पुरा गर्न काम अघि बढाएका छौ” नगर प्रमुख श्रेष्ठले भने “नगर क्षेत्रभित्रका जग्गा र संरचना भएका सबैलाई वैज्ञानीक करको दायरामा ल्याउन एकिकृत सम्पत्तीकर लागु गर्न लागीएको हो ।”
मालपोत कार्यालयसंग समन्वय गरेर नगरबासीको अचल सम्पत्ती (घरजग्गा) को विवरण संकलन, मूल्याङ्कन र कर निर्धारण गरेपछि कार्यान्वयन गरिने नगरपालीकाले जनाएको छ । अन्तरक्रियाको सहजिकरण गर्दै नगर प्रशिक्षण केन्द्र पोखराका हरिकृष्ण कोईरालाले सम्पत्तीको आधारमा तिरीने, जग्गा र संरचनाको पटक पटक कर तिर्न नपर्ने हुँदा दोहोरो नपर्ने, आफूले तिर्नुपर्ने रकमको बारेमा पहिलेनै जानकारी हुने भएकाले एकिकृत सम्पत्तीकर वैज्ञानीक र बढी न्यायोचित भएको बताए ।
नगर उपप्रमुख सञ्जु बरुवालले नगर क्षेत्रको विकासका लागि कर जरुरी रहेको बताउदै एकिकृत सम्पत्तीकर दिगो र भरपर्दो बलीयो स्रोत भएको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अधयक्ष जीवनबहादुर विश्वकर्माले करको दायरा फराकीलो बनाउनु सकारात्मक भएको बताउदै नगरबासीलाई खुसी भएर कर तिर्न अग्रसर हुने वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो । कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले वडा अध्यक्ष र सचिवहरुसंग एकिकृत सम्पत्तीकर लागु गर्ने विषयमा यसअघिनै छलफल गरिएको बताए। वडा स्तरमा समेत सरोकारवालाहरुलाई एकिकृत सम्पत्तीकरको बारेमा शिक्षा प्रदान गरिने कार्यकारी अधिकृत कुईकेलले बताए।
अन्तरक्रियमा सहभागी राजनितिक दल, उद्योग वाणिज्य संघ र नागरीक समाजका प्रतिनिधिले बेनी नगरपालीकामा एकिकृत सम्पत्तीकर कार्यान्वयन गर्न सघाउने प्रतिवद्धता जनाएका थिए । नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की र नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l