म्याग्दीमा राप्रपा विभाजित ,रुपनारायण श्रेष्ठको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन
- २८ भाद्र २०७४, बुधबार
- कमल खत्री
- 3653 पटक पढिएको
म्याग्दी, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दी औपचारीक रुपमा विभाजन भएको छ । केन्द्रमा राप्रपाबाट अलगिएर पशुपती शम्सेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गरेलगत्तै म्याग्दीमा पनि तत्कालिन राप्रपा नेपालमा रहेका केही नेता तथा कार्यकर्ताहरुले छुट्टै पार्टीको जिल्ला समिति गठन गरेका हुन् ।
राप्रपा(प्रजातान्त्रिक)का केन्द्रिय सदस्य रहेका जगत प्रसाद गौचनको बिशेष उपस्थितिमा बुधवार बेनीमा भएको एक भेलाले रुपनारायण श्रेष्ठको अध्यक्षतामा राप्रपा (प्रजातान्त्रिक) म्याग्दी गठन गरेका हुन् । भेलाले राप्रपा (प्रजातान्त्रि)को सदस्यहरुमा टोपबहादुर केसी, रामबहादुर थापा (अर्जुन), धर्मेन्द्र गौचन, दिलीप बरुवाल, भक्तिलाल छन्त्याल, ओमबहादुर विक, विरेन्द्रबहादुर रावल, पूर्णबहादुर कार्की, बालकुमार छन्त्याल, प्रेमकुमारी छन्त्याल, नन्दकली शर्मा, तसमान छन्त्याल, एगेन्द्रमान शेरचन, बलबहादुर सुनारलाई चयन गरेको छ ।
भेलाबाट नवगठित राप्रपा (प्रजातान्त्रिकको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य जगत प्रसाद गौचनले हिन्दु राष्ट्र र राजा पुर्नस्थापनाको एजेण्डा कमल थापाले छाड्दै गएपछि पार्टी विभाजन भएको बताउनुभयो ।
उहाँले मुख्य दलहरु काँग्रेस, एमाले र माओवादीको गलत प्रवृतिले जनताहरु निरास बनेको जिकिर गर्दै राजा सहितको हिन्दु राष्ट्र कायम गर्ने राप्रपा (प्रजातान्त्रिक) को एजेण्डालाई जनताले सहयोग गर्ने दावि समेत गर्नुभयो । उहाँले यस अघि राप्रपा नेपाल म्याग्दीको पार्टीमा रहेका बहुमत नेता तथा कार्यकर्ताहरु समेत राप्रपा प्रजातान्त्रिककै पक्षमा रहेकाले आगामी दिनमा पुनः बृहत कार्यक्रम सहित पार्टीलाई बलियो र संगठीत बनाउँदै लैजाने बताउनुभयो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l