महासंघको उपाध्यक्ष पदमा तत्काल निर्वाचन नगर्न अन्तरिम आदेश

  • १६ भाद्र २०७४, शुक्रबार
  • 2097 पटक पढिएको

म्याग्दी, १६ भदौ । नेपाल उद्योग बाणिज्य महासंघले उपाध्यक्ष पदमा निर्वाचित भएका प्रमोद श्रेष्ठलाई हटाउने निर्णय कार्यान्वयन नहुने देखिएको छ । महासंघको जिल्ला तथा नगर उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठलाई हटाउने निर्णय गर्दै यहि भदौ १९ मा पुनः सो पदमा निर्वाचन गराउने तयारी गरेको महासंघलाई सर्वोच्च अदालले तत्काल निर्वाचन नगराउन अल्पकालिन अन्तरीम आदेश दिएको हो ।

बेनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि विधान विपरित भन्दै गत असार ६ गते बसेको महासंघको कार्यकारिणी समितिको बैठकले श्रेष्ठलाई उपाध्यक्ष पदबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले दुबै पक्षसंग छलफल गरि निर्णयमा पुग्नुपर्ने देखिएको भन्दै अन्तरिम आदेशको छलफलको लागि भदौ २७ गते दुवै पक्षलाई उपस्थिति भएर आफ्नो भनाई राख्ने पेसी तोकेको जनाएको छ ।

सो समयसम्मको लागि महासंघको निलम्वनको निर्णय यथास्थितिमा राख्न समेत अदालतले भनेको छ । म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष, अञ्चल संयोजक, खुल्ला तर्फबाट सबैभन्दा लोकप्रिय मत ल्याएर केन्द्रिय सदस्य हुदै उपाध्यक्ष पदमा निर्वाचीत भएका श्रेष्ठलाई बेनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएर विधानको उल्लंघन गरेको भन्दै हटाइएको थियो । विधानको गलत ब्याख्या गरेर हटाइएपछि श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।