भेडापालक कृषकलाई औजार सहयोग

  • १६ भाद्र २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 3065 पटक पढिएको

म्याग्दी, १६ भदौ । म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालीकाका भेडापालक कृषकहरुलाई औजार र सामाग्री वितरण गरिएको छ ।जिल्ला पशु सेवा कार्यालयले बिहीबार पोखरेबगर स्थित गाउँपालीकाको कार्यालयमा आयोजित कार्यक्रममा रघुगंगाको भगवती, बेग, अन्नपूर्णको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ र शिखका ६३ जना कृषकहरुलाई विभिन्न औजार वितरण गरेको हो ।

परम्परागत रुपमा गरिदै आएको भेडापालनलाई व्यवस्थित गर्दै मासु र उनको उत्पादन तथा गुणस्तर बढाउने उद्देश्यले कृषकलाई सामाग्री उपलब्ध गराइएको बरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।कालीगण्डकी भेडा विकास स्रोत केन्द्र मार्फत ८ लाख रुपैया भन्दा बढीको औजार र सामाग्री वितरण गरिएको कार्यालयले जनाएको छ । ६६ जनालाई सोलार टुकी र भेडाको उन काट्ने कैची उपलब्ध गराइएको छ ।

४ वटा बडीजो (खसी बनाउने मेसीन), ४ वटा पाल, १ वटा प्रोटेवल डिपीङ टंकी, २० वटा ऊन कोर्ने कोरेशो, ६० जोडा चर्खा, २० वटा काइयो, २० जोडा गमबुट, ५ वटा डिजीटल तौलने मेसीन, २० वटा रेनकोट, २० वटा टर्चलाईट र ५ जनालाई मोवाईल वितरण गरिएको पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले बताउनुभयो ।

कालीगण्डकी भेडा विकास स्रोत केन्द्रका अध्यक्ष मेखबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पशु चिकित्सक मनबहादुर पुन, अन्नपूर्ण गाउँपालीकाका कार्यकारी अधिकृत अच्युत दाहाल, पशु विकास अधिकृत नरबहादुर बानियाले सामाग्री तथा औजार वितरण गर्नुभएको थियो ।

औजार तथा सामाग्रीहरु भेडापालकलाई थप व्यवस्थित र व्यवसायीक बनाउन सहयोगी हुने स्रोत केन्द्र विकास समितिका सदस्य श्याम पुनले बताउनुभयो । पशु सेवा कार्यालयको सहयोगमा स्रोत केन्द्र अन्तरगत भेडा बस्ने गोठ, टहरा निर्माण, चरन खर्कमा जाने बाटो, डिपीङ ट्याङक निर्माण गरेका छन् । सो क्षेत्रका कृषकहरुले बाह् हजार भन्दा बढी भेडा पालेका छन् ।

 

सन्तोष गौतम