नीति तथा कार्यक्रममा अपाङ्गमैत्रीको माग गर्दै नगरपालिकामा पैरवी पत्र

  • १५ भाद्र २०७४, बिहीबार
  • धिरन खत्री
  • 2199 पटक पढिएको

म्याग्दी, १५ भदौँ । अपाङ्ग संघ म्याग्दीले बेनी नगरपालिकाको नीति तथा कार्यक्रममा अपाङ्गमैत्री र प्रभावकारी कार्यान्वयनको माग गर्दै पैरवी पत्र बुझाएको छ । नगरपालिकाले विभिन्न नीति निर्माण योजना कार्यान्वयन गर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई हरेक क्षेत्रमा समेट्न माग गर्दै बेनी नगरपालिकाको उप–मेयर सन्जु बरुवालाई पैरवी पत्र बुझाएका हन् ।


पैरवी पत्र हस्तान्तरण गर्दै अपाङ्गसंघ म्याग्दीका अध्यक्ष गोपाल केसीले बेनी नगरपालिकाको सेवाप्रवाहबाट लिईने कर तथा शुल्क अपाङ्गहरुलाई शतप्रतिशत छुटको ब्यवस्था, गर्न माग गर्दै नगरपालिकाभित्र सार्वजनिक भवन तथा भाडामा दिने घरको नक्शा पास गर्दा अपाङ्गमैत्री बनाउन नगरपालिकालाई अग्रसरता देखाउन आग्रह गर्नुभयो । संघले सो पैरवी पत्रमार्फत अपाङ्गता भएका ब्यक्तिहरुलाई आयआर्जन तथा स्वारोजगारको कार्यक्रमको संचालनमा बजेट विनियोजन गर्न, यातायातमा भाडा छुट तथा आरक्षण सिटको प्रभावकारी लागु गर्न, योजना निर्माण तथा अनुगमन लगायतका कार्यक्रममा अपाङ्गहरुको पनि प्रतिनिधित्व गराउन आग्रह गरेको छ ।


पैरवीपत्र बुझ्दै– उपमेयर सन्जु बरुवालले बेनी नगरपालिकाबाट हुने सेवा प्रवाह तथा अन्य गतिविधिहरुमा राख्नुभएको अपाङ्गता सम्वन्धि मागलाई सम्वोधन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । अपाङ्गमैत्री सरकारी कार्यालय, सडक, घरको नक्शा पास गर्दा अपाङ्गताहरुलाई मध्यनजर गर्ने , नगरपालिकाको योजना निर्माण तथा बजेट विनियोजनमा पनि समावेश गर्ने निर्णय आगामी सभामा छलफल गरि कार्यान्वयन गर्ने जनाउनुभएको थियो । बेनी नगरपालिकालाई समावेशी र समृद्ध बनाउन सबैको सहयोग र सदभाव आवश्यक रहेको हुदाँ अपाङ्गताका समस्यालाई समाधान गर्न प्रतिवद्ध रहेको उपमेयर बरुवालले बताउनुभयो ।


पैरवीपत्र हस्तान्तरण कार्यक्रममा अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द केसी लगायतको उपस्थिति रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l