मेलाहरुलाई व्यवस्थित गर्न स्थानीय तहलाई जिल्ला सुरक्षा समितिको आग्रह

विद्यालयमा हुने मेलालाई पूर्ण रुपमा बन्देज लगाईने

  • १५ भाद्र २०७४, बिहीबार
  • कमल खत्री
  • 3171 पटक पढिएको

म्याग्दी, १५ भदौ । विभिन्न चाडपर्वको अबसरमा हुने मेला तथा जात्राहरुलाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समितिले म्याग्दीका सबै स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । विहिवार बसेको समितिको बैठकले जिल्लाको ग्रामिण भेगमा सामुदायिक विद्यालयमा पढाई बन्द गरेर मेला लगाउने, हप्तौ दिनसम्म पनि मेलापर्वका कार्यक्रम गर्ने जस्ता कारणले बालबालिकाहरुको पढाई प्रभावित भएको भन्दै यस्ता समस्या निराकरणको लागि जिल्ला शिक्षा कार्यालय मार्फत स्थानीय तहलाई मेला पर्वलाई व्यवस्थित गर्न आग्रह गरेको हो ।


मेला पर्वहरुको अनुमति स्थानीय तहले नै दिने भएकाले विद्यालय हाताभित्र मेला पर्व सञ्चालन गर्न नदिन र लामो समयसम्म मेला लगाउने अनुमती समेत नदिन सुरक्षा समितिले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उहाँले मेला पर्व सुरक्षा संग पनि जोडिएकाले मेला सञ्चालनको अनुमति दिन पूर्व जिल्ला स्थित सुरक्षा निकायसंग समन्वय गर्न समेत स्थानीय तहका जनप्रतिनिधिलाई अनुरोध गरिएको बताउनुभयो । ‘‘हामीले साँस्कृतिक महत्व बोकेका मेला पर्व लगाउनै हुन्न भनेका होईनौँ, हप्तौसम्म लाग्ने मेलालाई २–३ दिनमा सक्ने गरि लगाऔँ , विद्यालय हाताभित्र नगरौँ, कुनैपनि अप्रिय घटना निम्तन नदिउँ, आर्थिक, सामाजिक रुपमा पर्ने प्रभावहरुलाई ख्याल गरि आयोजक जिम्मेवार बन्दै पर्वको खास मर्म भन्दा बाहीर गएर मेला नगराँै भन्ने हो,’’–प्रजिअ अधिकारीले भन्नुभयो ।


विद्यालयमा मेला पर्व सञ्चालन गर्दा विद्यालयको पठनपाठन पूर्ण रुपले प्रभावित हुने, विद्यालय हाताभित्रै मदिराजन्य पदार्थ सेवन तथा विक्रि वितरण भईरहेको प्रति चौतर्फी गुनासो आएपछि जिल्ला सुरक्षा समितिले मेला पर्वको नाममा हुने विकृतिहरु न्युनिकरण र नियन्त्रणको लागि सक्रियता र चासो देखाएको हो । स्वच्छ रुपमा समाजिक तथा साँस्कृतिक पर्वहरुलाई मर्यादित रुपमा मनाउने संस्कारको विकास गर्दै अहिले देखिएका विकृतिहरु न्युनिकरणको लागि सुरक्षा निकायसंग समन्वय गरि मेलापर्वलाई व्यवस्थित गर्न स्थानीय तहलाई आग्रह गरिएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । स्थानीय तह जनताप्रति जिम्मेवार बन्नुपर्ने भएकाले समेत बालबालिकाको पढाई प्रभावित बनाउने र सुरक्षा चुनौति बढाउने कार्यहरुलाई नियन्त्रण गर्न स्थानीय तहले प्रभाबकारी भुमिका खेल्ने उहाँको अपेक्षा छ ।


‘‘ अहिले तिज र हरेलो पर्वको अबसरमा धेरै ठाउँमा मेला लागिरहेको सुचना आएको छ, ती अधिकाँश विद्यालय परिसरमै सञ्चालित छन्, धेरै बालबालिकाहरुको पढाई बिग्रीएको छ, कतिपय ठाउँमा छ मदिरा सेवनले कुटपिट समेत हुने गरेको पाएका छौँ, यस्ता विकृति न्युनीकरण होस भन्ने हाम्रो चाहना हो,’’– प्रनाउ खड्काले भन्नुभयो । साँस्कृतिक मेला पर्वहरुलाई जिवन्त दिने कार्यमा सुरक्षा निकायले सहयोग गर्ने भन्दै मेला पर्वको अबसरमा हुने कुटपिटको घटनामा संलग्नहरुलाई कानुनी कारबाही हुने र सो घटनाको जिम्मा समेत आयोजक क्लबहरुले नै लिनुपर्ने भएकाले मेलालाई मर्यादिन बनाउन आग्रह गरिएको समितिले जनाएको छ ।

म्याग्दीमा केही बर्ष अगाडी देखि सुरु भएको मेलापर्व सञ्चालन पूर्व सुरक्षा अबस्था र सहयोग बारे प्रशासनको अनुमति लिने परिपार्टी अन्र्तगत अहिले सुरक्षा सहयोग माग्न जाने आयोजक क्लबहरु अधिकाँश दर्ता नभएका र दर्ता भएपनि नविकरण नगरेका रहेकाले समेत सुरक्षा समितिको बैठकले भैपरि आउने घटनाहरुलाई न्युनीकरणको लागि सतर्कता देखाएको जनाएको छ । सुरक्षा समितिको बैठकको निर्णय अुनसार, जिल्ला शिक्षा कार्यालयले कुनैपनि मेला पर्व विद्यालय परिसरमा नगर्न आग्रह गर्दै विद्यालय व्यवस्थापन समिति, प्रअ तथा स्थानीय तहलाई पत्राचार गर्ने जनाएको छ । साथै विद्यालय परिसरमै मेला लगाउने र नियमित पठनपाठन प्रभावित बनाउनेहरुप्रति आबश्यक कानुनी कारबाहीको प्रकृया समेत सुरु गर्न जिल्ला शिक्षा कार्यालयलाई सुरक्षा समितिले अधिकार दिएको  छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l