बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरु

  • ७ भाद्र २०७४, बुधबार
  • 2169 पटक पढिएको

बेनी ७ भदौ । बेनीमा बुधबारदेखि अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले हरितालीका तिज पर्वको अवसरमा आयोजना गरेको जिल्ला जिल्ला खेलकुद कप २०७४ को बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटनमा नगर प्रमुख श्रेष्ठले खेलकुद प्रतिभा प्रस्फुटनका साथै आफ्नो ठाउँ र देशलाई चिनाउने माध्यम भएको बताउनुभयो ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता र कोषाध्यक्ष दिनेश केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बिहीबार सम्म सञ्चालन हुने प्रतियोगितामा दश वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र नौ हजार रुपैया पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।छात्राहरुलाई फुटबल खेलप्रती आकर्षित गर्ने उद्देश्यले “हामी सक्छौ” भन्ने मुल नारा सहित आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई एक हजार पाँच सय तथा अनुशासीत टिमलाई दुई हजार पाँच सय रुपैया पुरुस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका क्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गित तथा नृत्य प्रस्तुती र २०७४ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाउने म्याग्देली खेलाडीहरुलाई सम्मान समेत गरिने समितिले जनाएको छ ।