साझापानीमा महिलाहरुलाई संगीत सिप सिकाउन मादल बजाउने तालिम
- १४ चैत्र २०८१, शुक्रबार
- 447 पटक पढिएको
भिषण के सी म्याग्दी १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका –२ साझापानीमा महिलाहरुलाई संगीत सिप सिकाउनका लागि मादल बजाउने तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रले वडा नम्बर २ भगवतीमा रहेको आय आर्जन समूहका महिलाहरुका लागि सात दिने मादल बजाउने तालिम प्रदान गरेको हो ।
भगवतीका विभिन्न टोलका ३३ जना महिलाहरुले सहभागिता जनाएको तालिममा संगीत प्रशिक्षक गणेश सुवेदीले व्यवहारिक रुपमा मादल बजाउने सिप सिकाउनुभएको केन्द्रका परिचालक दुर्गादेवी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, गत साता मौवाफाँट आयआर्जन समूहका २६ जना महिलाहरुलाई समेत मादल बजाउने तालिम प्रदान गरिएको थियो ।
केन्द्रले नयाँ आयआर्जन समूहलाई मादल समेत उपलब्ध गराउने जनाइएको छ । तालिम समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँघरमा हुने पूजाआजा, भजनकृतन, रत्यौलीलगायतका साँस्कृतिक कार्यक्रमहरुमा संगीत सिप अनिवार्य भएको अवस्थामा महिलाहरुले सिकेको मादल बनाउने सिप उपलब्धिमुलक हुने बताउनुभयो ।
उहाँले मौवाफाँटमा सामुदायिक सिकाई केन्द्रको भवन निर्माण गरेर महिलाहरुको आयआर्जन संग सम्बन्धीत गतिविधिलाई व्यवस्थित गराउने तयारी गरिएको जानकारी दिनुभयो । कार्यक्रममा रघुगंगा गाउँपालिका– २ का वडा अध्यक्ष अमृत भण्डारीले महिलाहरुलाई संगीत सिप तालिमले गाउँघरमा हुने संगीत संग सम्बन्धित कार्यक्रमहरुमा सहज हुने बताउँदै आयआर्जनमुलक कार्यक्रम मार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । मौवाफाँट सामुदायिक सिकाई केन्द्रले यस अघि वडा नम्बर १ बेग र वडा नम्बर ४ दग्नाममा समेत मुडा बुन्ने तालिम प्रदान गरेको थियो ।
गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म कार्यक्षेत्र रहेको केन्द्रले हरेक बर्ष महिलाहरुको सिप र आयआर्जनसंग सम्बन्धित कार्यक्रमलाई सञ्चालन गर्दै आएको मौवाफाँट सामुदायिक सिकाई केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ शर्माले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकाले चालु आर्थिक बर्षमा आयआर्जन र सिप मुलक तालिमका लागि केन्द्रलाई रु १ लाख ७० हजार बजेट उपलब्ध गराएको छ ।
महिलाहरुको क्षमता विकास र आयआर्जन सुधार संगै सिप विकासका लागि आगामी बर्षमा सामुदायिक सिकाई केन्द्रलाई थप व्यवस्थित बनाउने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।