दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाले धारनै परिवर्तन हुने गरि ‘मकिङ’ खोलामा फाल्यो
- ११ चैत्र २०८१, मंगलवार
- 875 पटक पढिएको
दरवाङ, १२ चैत ः मालिका गाउँपालिकामा निर्माणाधिन २५ मेगावाट क्षमताको दरवाङ– म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर संकटमा पर्नुको साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको मालिका गाउँपालिका–६ कमेरे स्थित अडित नम्बर २ मा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्कीएको ढुङ्गा, माटो नीतिगत व्यवस्था विपरित धारनै परिवर्तन हुने गरेर म्याग्दी नदी र किनारमा फालेको हो ।
खोलामा मकिङ फाल्न थालेपछि म्याग्दी नदीमा माछा लगायत जलचर पाइन छाडेको र बर्खायाममा बाढीको आयटन बढेर दरवाङ, बाबियाचौर, तातोपानी, सिंगा र बेनीमा कटानको जोखिम सिर्जना गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।
बिस्फोटक पदार्थ मिसिएको ढुङ्गा माटोमा हुने रासायनिक पदार्थ जलचरका लागि प्रतिकुल हुने भएकाले नदी भन्दा बाहिर छुट्टै जग्गामा डम्पिङ (थुपार्नु) पर्ने कानुनी ब्यवस्था छ । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारीले खोलामा फलेको र किनारमा थुपारेको मकिङ अन्यत्र ब्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो । “जलविद्युत आयोजनाको मकिङ जथाभावी रुपमा फाल्दा वातावरणीय असर पर्छ,” उहाँले भन्नुभयो “फोन गरेर हटाउन र अब नफाल्न निर्देशन दिएको छु ।”
दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्कीएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको छ । आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्विकार गर्दै जग्गा खोजेर ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७५ मा शुरु भएको दरवाङ म्याग्दीखोला जलविद्युत जलविद्युत आयोजनाको छ वर्षमा २० प्रतिशत पनि भौतिक प्रगति भएको छैन् । आयोजनाका स्थानीय सेयर लगानीकर्ताहरु निर्माणमा भएको ढिलाईका कारण निराश भएका छन् ।
मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ इल्पुमा बाँध र वडा नं.–१ खोप्तिमा विद्युतगृह प्रस्ताव गरिएको आयोजनाको सुरुङ बाहेकका अन्य भौतिक संरचना निर्माण शुरुनै भएको छैन् ।