थामडाँडाबासीले गरे श्रमदानबाटै सिँचाइ योजना मर्मत सुधार
- २१ फाल्गुन २०८१, बुधबार
- 1 पटक पढिएको
म्याग्दी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजनाको सुधार गरेका छन् । चार बर्षअघि निर्माण सम्पन्न भएको बालमखोला सिँचाइ आयोजना अन्तगर्त थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइन थोरै क्षमताको भएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरेर मर्मत सुधार गरेका हुन् ।
गाउँनजिक रहेको, रिजर्भ ट्याङ्कीदेखि करिब पाँच सय मिटर दुरीको पाइपलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइनबाट विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मुल समितिका सचिब धनकाजी सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार, ३५ घरधुरीबाट एक÷एक जनाले आठ दिनसम्म दिनभर श्रमदान गरेर नयाँ पाइपलाइन खन्ने, पुरानो पाइपलाइनको पाइप उत्खनन गर्ने र पाइपलाई जमिनमुनीबाट खेतवारीमा पु¥याउने काम गरिएको छ । पहिलेको दुई इन्चको पाइप राखिएको शाखा पाइपलाइन उकालो परेकाले आबश्यक मात्रामा पानी खेतवारीमा नपुगेपछि पाइपलाइनको मार्ग नै नयाँ बनाएर रिजर्भ ट्याङ्कीको आउटलेटबाट डेढ इन्चको पाइप थप गरिएको उपभोक्ता समितिले जनाएको छ ।
श्रमदानबाट पाइपलाइन मर्मत गरेपछि ३५ घरधुरीको १९० रोपनी खेतीयोग्य जमिनमा सहज रुपमा सिँचाइ सुविधा पुगेको समितिका सचिब सुनारले जानकारी दिनुभयो । बेनी नगरपालिका–३ मा पर्ने बालमखोलाको मुहानबाट पानी ल्याएर निर्माण गरिएको बालमखोला सिँचाइ योजनाबाट थामडाँडाका साथै सुर्केमेला र बास्कुना समेत समेटिएको छ ।