पाण्डे दम्पतीको उपचारमा युकेबाट रु तीन लाख ४० हजार सहयोग

  • १७ फाल्गुन २०८१, शनिबार
  • 61 पटक पढिएको

म्याग्दी, १७ फागुन । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा युकेबाट रु तीन लाख ४० हजार बढी सहयोग जुटेको छ । राखु समाज युके र म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके मार्फत पाण्डे दम्पतीको उपचारको लागि रु तीन लाख ४० हजार ५१८ सहयोग संकलन भएको हो ।


राखु समाज युकेका सदस्यहरुबाट रु एक लाख ७६ हजार ७८४ र मोना युकेका सदस्यहरुबाट रु १ लाख ६३ हजार ७३४ रुपैयाँ सहयोग जुटेको मोना युकेका उपाध्यक्ष एवं राखु समाज युकेका पूर्व अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो । ‘‘हामीले युकेमा संकलन गरेको रकम पाण्डे दम्पतीको उपचारका लागि पठाइसकेका छौँ, थप सहयोग गर्न इच्छुक व्यक्तिलाई सिधै विरामीको नाममा रहेको खातामा जम्मा गर्न भनेका छौँ’’–युकेमा आर्थिक संकलन अभियानको नेतृत्व गर्नुभएका भण्डारीले भन्नुभयो ।
युकेबाट प्राप्त भएको सहयोग रकम कमल मल्ल मार्फत पिडित दम्पतीलाई हस्तान्तरण समेत गरिएको छ । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र युकेबाट प्राप्त सहयोगले उपचारमा राहत भएको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
मृर्गौला पीडित सिताले बेनी अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासीको अगुवाईमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।