पाँच दशकपछि जब शिष्यहरुले गुरुलाई अभिनन्दन गर्न पुगे ….(फोटो फिचर)
- २० मंसिर २०८१, बिहीबार
- 1257 पटक पढिएको
म्याग्दी १९ मङ्सिर । बेनी नगरपालिका– ७ महारानीथान निवासी ८१ बर्षिय पण्डित नीलकण्ठ आचार्य आफ्नो पेसाबाट पहिलो पटक अभिनन्दन हुँदा खुसीले दङ्ग हुनुभयो । आफुले पाँच दशक अघि पढाएका विद्यार्थीहरुले सामूहिक रुपमा अभिनन्दन गरेपछि पण्डित आचार्यमा खुसी संगै भावुकता छायो । बुधवार बेनी नगरपालिका– ९ गलेश्वरमा तत्कालिन गलेश्वर संस्कृति पाठशालाका विद्यार्थीहरुले आफ्ना गुरु (शिक्षक) आचार्यको सम्मानका लागि पूर्व विद्यार्थी पुनर्मिलन समारोह आयोजना गरेका थिए ।
वि.स. २०२६ देखि ३१ सालसम्म गलेश्वरमा सञ्चालन भएको उक्त गलेश्वर संस्कृत पाठशालामा अध्यापन गराउनुभएका आचार्यलाई पाँच दशक पछि विद्यार्थीहरुले सामूहिक अभिनन्दन गरेका हुन । पूर्व विद्यार्थी समूहका संयोजक टिकानन्द सुवेदी र सहसंयोजक नारायणदक्त सुवेदी लगायतले बयोबृद्ध उमेरमा पुग्नुभएका सेवानिवृत शिक्षक आचार्यलाई दोसल्ला र सम्मानपत्रद्धारा अभिनन्दन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी करिब ६० जना पूर्व विद्यार्थीहरुले पालैपालो गुरुको गलामा माला र दोसल्लो ओढाएर सम्मान गरेका थिए । आफ्नो गुरुलाई सम्मान गर्न पुगेका अधिकाँश शिक्षण र सरकारी जागिरबाट सेवानिवृत भएका र पुरोहित पेसालाई अंगालेर संस्कृत भाषा र सनातन संस्कारलाई संरक्षणमा योगदान दिएका व्यत्तिहरु थिए । जिल्लामा संस्कृत शिक्षाको विकासमा तत्कालिन गलेश्वर संस्कृत पाठशालाको भूमिका रहेको र उक्त पाठशालामा अध्यापन गराउनुभएका जीवित शिक्षक आचार्यको योगदान महत्वपूर्ण रहेकाले उहाँलाई अभिनन्दन सहित सम्मान गरिएको उक्त कार्यक्रमका सहसंयोजक नारायणदक्त सुवेदीले बताउनुभयो ।
वि.स. २०३१ सालमा नयाँ शिक्षा नीति आएर पाठशाला बन्द भएपछि तत्कालिन समयका शिक्षकहरु अन्य विद्यालयमा र विद्यार्थीहरु समेत अन्यत्र पठनपाठनका लागि गएका थिए । गलेश्वर संस्कृत पाठशालामा अध्ययन गरेका अधिकाँश विद्यार्थीहरु शिक्षक, कर्मचारी र पण्डित बनेको देख्दा आफुलाई गौरवकको महसुस भएको सम्मानित सेवानिवृत शिक्षक आचार्यले बताउनुभयो । ‘‘ आज मेरो गला भारी भएको छ, मैले पढाएका शिष्यहरु टाढा टाढाबाट यहाँ आएको देखेँ, पचास बर्ष अघि आश्रममा संगै बसेको सम्झना आयो, साना साना बालकहरु आज विद्धान पण्डित र कर्मचारी बनेको देख्दा सुन्दा मलाई असाध्यै खुसी लाग्छ’’– पण्डित आचार्यले भन्नुभयो ।
तत्कालिन गलेश्वर संस्कृत पाठशालाबाट शिक्षण आरम्भ गर्नुभएका आचार्यले तोरीपानी, नेप्टेचौर, तीनमाने, बावियाचौर, जामुनाखर्क हुँदै बेनीको प्रकाश मावि समेतमा गरी ३१ बर्ष शिक्षण गरेर वि.स. २०५७ सालमा सेवानिवृत हुनुभएको थियो । पूर्व विद्यार्थीहरुले आयोजना गरेको उक्त पुनर्मिलन समारोहमा गलेश्वर संस्कृत पाठशालाका तत्कालिन शिक्षक नारायणदक्त प्रसाद शास्त्रीलाई समेत आमन्त्रण गरिएको थियो । बृद्ध अवस्थामा पुग्नुभएका शास्त्री स्वास्थ्य अवस्थाका कारण समारोहमा सहभागी हुन नसकेको जनाईएको छ।
समारोहमा पूर्व विद्यार्थी केदारनाथ पौडेलले गुरुको सम्मानमा कबिता बाचन गर्नुभएको थियो ।
समारोहमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले तत्कालिन पाठशालाका विद्यार्थीहरुले आफ्ना गुरुप्रति गरेको सम्मानले उहाँको योगदानको कदर गरेको बताउनुभयो । गुरुको असल मार्गनिर्देशकै कारण आफुहरुले समाजमा बनाएको पहिचान र प्रतिष्ठामा गौरव गर्ने र गुरुहरुप्रति सम्मान गर्ने संस्कारले समाजमा सकरात्मक सन्देश दिने उहाँको भनाई छ ।