धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

  • २० भाद्र २०८१, बिहीबार
  • कमल खत्री
  • 101 पटक पढिएको

­

म्याग्दी , २० भदौ । अग्ला पहाडले घेरिएको । हरियाली बुकी । थरिथरीका लेकाली फूलहरुले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर रहेको छ । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित ऋखार ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ ।


यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा ४ हजार १० मिटर उचाईमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाहरुले भरिएको ऋखारकोे लेकाली भू–भाग यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराईतो लगायतका बहुमुल्य जडिबुटीहरुको भण्डारणको रुपमा चिनिन्छ ।

तलाउमाथि रहेको डुङ्गा आकारको ढुंगामा निर्मित मन्दिर नै ऋखारको मुख्य मन्दिर हो । भक्तजन र स्थानीयको पहलमा रिखार क्षेत्रमा अन्य मन्दिरहरु समेत निर्माण भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि गलेश्वर, गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला, घ्याँसीखर्क, दुवाडी, पात्लेखर्क हुँदै दुई दिनको यात्रामा ऋखार पुग्न सकिन्छ । मुस्कुराईरहेको आखैमा ठोक्किने हिमाल र हरियालीले सजिएका अग्ला पहाडको सुन्दरताभित्र लुकेको ऋखार ऋषिहरुले तपस्या गरेको प्रसिद्ध तपोभुमिको रुपमा रहेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार,उच्च हिमाली क्षेत्रमा अवस्थित रहेको कारण बैशाख देखि असोज महिनासम्म नै पुजाआजा हुने ऋखार मन्दिरमा ऋषि तर्पणी अर्थात जनैपूर्णिमाको दिन बिशेष पुजा हुने गर्छ । केहि बर्ष अघि सम्म कुइनेमंगले आसपासका मानिसहरुको मौ चहलपहल हुने ऋखारमा पछिल्लो समय प्रचार प्रसारको कारण जिल्लाबाहिरबाट समेत ठूलो संख्यामा पर्यटक र भक्तजनहरु आउन थालेको उहाँको भनाई छ ।
ऋखार मन्दिरमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने भएपछि हरेक बर्ष यहाँ पुग्ने भक्तजनहरुको सख्ंया बढ्दो क्रममा छ ।

आफुले आँटेको र चाहेको कुरा पुरा गराउनको लागि भाकल गर्न म्याग्दीको साथै, पर्वत, बागलुङ, कास्की , नवलपरासी, काठमाण्डौ लगायतका क्षेत्रबाट भक्तजनहरु पुग्ने गर्छन् । आफ्नो मनले आँटेको कुरा पुरा हुने भएकै कारण मानवबस्तीदेखि टाढा, घना जंगलको बाटो, उकाली ओराली गर्दै भक्तजनहरु ऋखारमा पुजा गर्न पुग्छन् । अन्य समयमा समेत यस क्षेत्रमा धार्मिक पर्यटकहरु भित्र्याउन सकिने भएपनि पदमार्ग, होटल, खानेपानी लगायतका पूर्वाधारको अभाबले उल्लेख्य मात्रामा धार्मिक पर्यटकहरु पुग्न सकेका छैनन् ।

दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरि ऋखारमा गएका भक्तजन र पर्यटकहरुलाई यस क्षेत्रबाट देखिने मनोरम दृष्यले लोभ्याउने गरेको छ । पहिलो पटक ऋखारमा पुग्नुभएका बेनीका दामोदर शर्माले धार्मिक महिमा र प्राकृतिक सुन्दरताले भरिएको ऋखार प्रचार प्रसार र पूर्वाधार निर्माण गर्न सकेमा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताउनुभयो । उहाँले त्यहाँबाट देखिने दृष्यले आफु लोभिएको बताउनुभयो ।

ऋखार मन्दिर परिसरमा रहेको दमाह आकारको तामाको भाँडोमा कहिल्यै पानि नसुक्ने नौलो बिशेषता रहेको छ । बर्षौदेखि मन्दिर परिसरमा रहेको सो भाँडोमा कतैबाट पनि पानि नराखेपनि उक्त भाँडोमा संधै भरिभराउ पानी हुने गर्छ । पुजाआजा र दर्शनको लागि पुगेका भक्तजनहरुले समेत सोहि भाँडोको पानीलाई पवित्र जलको रुपमा लैजाने गरेपनि सो भाँडो कहिल्यै नरित्तिने कथन छ । यहाँ पुग्ने जो कोही पनि यहि बिशेषताले थप आश्चर्यमा पर्ने गर्छन् । जनैपूर्णिमाको अवसरमा पुजा गर्न जाने भक्तजनहरु अघिल्लो दिनदेखि नै वर्त बसेर पुर्जा गर्नुपर्ने मान्यता रहेको छ ।

ऋखारमा रहेको डुंगा आकारको ढुंगाको ईतिहाँस श्रीमद भागवदको मत्य अवतारसंग सम्बन्धित प्रसंगसंग जोडिएको छ ।
पौराणीक कथा अनुसार, संसारको प्रलय भई जलमग्न हुँदा सत्यब्रत राजाले डुंगामाथि चढेर सप्तऋषि, महत्वपूर्ण जडिबुटी र आफ्नो समेत सुरक्षा गरेको र कालन्तरमा उनीहरु यहि क्षेत्रमा आएर बिश्राम गरेको सन्दर्भ उल्लेख छ । ऋखार क्षेत्रमा रहेको यस डुंगा आकारको ढुंगालाई प्रयलकालकै डुंगाको अवशेषको रुपमा लिने गरिन्छ भने सप्तऋषिहरुको तपस्थली, हिउँले खारिएको ठाउँ र हजाराँै फुलहरुले सजिएको रमणिय ठाउँ भएकै कारण यस क्षेत्रको नामाकरण ऋखार रहन गएको किम्बदन्तीहरु समेत रहेका छन् ।

ऋखार धार्मिक महत्वको अलवा प्राकृतिक सुन्दरताको दृष्टिकोणमा पर्यटकीय गन्तव्यको सम्भावनायुक्त ठाउँ पनि हो । मनोरम हिमाल, जंगली फुलहरुले रंगिएका खर्क, हरियाली डाँडा, छङछङ गर्दै झर्ने झरना, खोलानाला, परम्परागत भेडाबाख्रा र गाई भैसीको गोठले यस क्षेत्रको पदयात्रामा जाने जो कसैको मनै भुलाईदिन्छ भने यात्राका थकान र मनका दुख मेटाईदिन्छ । ऋखारलाई धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले ऋखार संरक्षण समिति गठन गरेर विकास र प्रवद्र्धनको काम गर्दै आएका छन् । स्थानीयको अगुवाई, भक्तजन र समुदायको सहयोग तथा सरोकारवालाको पहलबाट भक्तजन र पर्यटकको सुविधाको लागि दुवाडी, पात्लेखर्क, बगरखोला र ऋखारमा तिर्थयात्री भवन निर्माण गरिएको छ । पात्लेखर्कदेखि ऋखार जाने बाटोमा पुल, पदमार्ग लगायतका पर्यटन पूर्वाधार निर्माणले तिब्रता पाउन थालेको सप्तऋषि युवा क्लबका संरक्षक अंिकत पुनले बताउनुभयो ।

स्थानीय सरकार कार्यान्वयनमा आएसंगै रघुगंगा गाउँपालिका र वडा नम्बर ८ को कार्यालयले समेत ऋखारलाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रचार प्रसार र पूर्वाधार विकासलाई जोड दिन सुरु गरेका छन् । ऋखार क्षेत्रले बोकेको सम्भावनाको उजागरमा सरकारी निकाय र संरक्षण समिति संगै स्थानीय आमा समुह, युवा क्लबको समेत सक्रियता बढेको छ । ऋखारको सम्भावनाको उजागर समस्याको पहिचान गरि दिर्घकालिन र तत्कालिन पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण गर्ने योजनालाई वडा कार्यालयले अघि सारेको छ ।
अप्ठ्यारा ठाउँहरुमा पदमार्ग, खोलाहरुमा झोलुङ्गे पुल, प्रयाप्त आश्रय स्थल लगायतका पर्यटन पूर्वाधार निर्माण संगै ऋखार हुँदै धवलागिरी हिमालको चेमाली आधार शिविरलाई व्यवस्थित पदमार्गले जोड्न सकेमा यस क्षेत्रमा भक्तजनसंगै पर्यटकको आगमनलाई बढाउन सकिने क्लबका संरक्षक पुनले जानकारी दिनुभयो । अल्पसख्ंयक छन्त्याल समुदायको बाहुल्यता रहेको यस वडा नम्बर ८ कुईनमंगले क्षेत्रको विकासमा ऋखार क्षेत्रको धार्मिक, पर्यटकीय पूर्वाधार विकासले महत्वपूर्ण सहयोग पु¥याउने सम्भावना छ । छन्त्याल समुदायको कला संस्कृति पर्यटकहरुको लागि थप आकर्षण बन्न सक्छ भने ऋखार क्षेत्रको विकासले समग्र रघुगंगा गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा सहयोगी बन्ने आधारहरु रहेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l