गलेश्वरधाममा धार्मिक पुस्तकालय स्थापना

  • १७ श्रावण २०८१, बिहीबार
  • 187 पटक पढिएको

म्याग्दी , १७ साउन । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषमा धार्मिक पुस्तकालय स्थापना गरिएको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा धार्मिक पुस्तकहरुको संरक्षण तथा स्थानीय स्तरमा धार्मिक पुस्तकको उपलब्धता गराउन पुस्तकालय स्थापना गरिएको हो ।


पुस्तकालयमा ५ सय बढी धार्मिक पुस्तकहरु राखिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।‘‘ गलेश्वरमा आउने भक्तजन तथा आगन्तुकहरुलाई समेत लक्षित गरेर हामीले पुस्तकालय स्थापना गरेका हौँ, यहाँ बैदिक सनातन धर्मसंग सम्बन्धित सबै विद्याका पुस्तकहरु राख्ने लक्ष्य लिएका छौँ, गण्डकी क्षेत्रकै उत्कृष्ट धार्मिक पुस्तकालय बनाउने जमर्कोमा जुटेका छौँ’’– अध्यक्ष रेग्मीले भन्नुभयो ।


गलेश्वर शिवालयमा हुने धार्मिक यज्ञ, अनुष्ठानहरुमा धार्मिक पुस्तकहरुको अभाब हुन नदिन र धार्मिक व्यक्तित्वहरुलाई धार्मिक पुस्तकहरुको अध्ययनमा समेत पुस्तकालयले सहयोग पुग्ने स्थानीय युवा लोकेन्द्र खड्काले बताउनुभयो । पुस्तकालयमा १८ पुराण, १८ उपपुराण, ४ वेद, उपनिसद्, धर्म सिन्दु, निर्णय सिन्दु, गीता, भागवतलगायतका पुस्तकहरु राखिएको छ ।

पुस्तकालय बनाउन धवलागिरी गाउँपालिका–७ ताकम घर भई हाल अमेरिकामा रहनुभएका रघुनाथ सुवेदीको नेतृत्वमा रु ६ लाख ३० हजार सहयोग प्राप्त भएको जनाइएको छ । पुस्तकालयको फर्निचर र कोठा व्यवस्थापन तथा पुस्तक खरिदमा सुवेदीले व्यक्तिगत रु ४ लाख ४५ हजार, गुर्जा निवासी तेजेन्द्र छन्त्यालले रु १ लाख ३० हजार सहयोग गर्नुभएको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

पुस्तकालयको लागि प्राप्त सहयोग रकममा अझै ७० हजार बचत रहेकाले उक्त रकमबाट समेत थप धार्मिक पुस्तकहरु खरिद गरिने कोषले जनाएको छ । धार्मिक पुस्तकालयमा रहेका पुस्तकहरुलाई जिल्लामा हुने विभिन्न धार्मिक यज्ञ, अनुष्ठानहरुमा समेत आबश्यक परेको समयमा उपलब्ध गराइने छ । गलेश्वर क्षेत्रमा आउने भक्तजनहरुलाई लक्षित गरेर अहिले दैनिक रुपमा विहान ११ देखि दिउँसो २ बजेसम्म नियमित रुपमा पुस्तकालयलाई खुला राख्ने प्रवन्ध मिलाईएको छ ।