नेपाल निजामती कर्मचारी संगठनद्धारा दृष्टिविहिन विद्यार्थीहरुको लागि सहयोग
- १५ श्रावण २०८१, मंगलवार
- 135 पटक पढिएको
म्याग्दी, १५ साउन । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीले रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरूका लागी खाद्यान्न र झुल वितरण गरेको छ । शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको असरमा संगठनले मंगलवार रु १५ हजार बराबरको खाद्यान्न सामाग्री र झुल वितरण गरेको हो ।
दिवसको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुका लागि चामल, दाल, नुन, तेल, सरसफाइका सामाग्री सहित ८ वटा झुल प्रदान गरेको नेपाल निजामती कर्मचारी संगठन म्याग्दीका उपाध्यक्ष भोलानाथ आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष सोमनाथ खत्री, संगठनका केन्द्रिय सदस्य तथा आधिकारीक ट्रेड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणी सापकोटा, रघुगंगा गाउँपालिका– ३ का वडा अध्यक्ष खिमबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रधानध्यापक बिजय शर्मालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । निजामती कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षबाट भएको दमनबाट ज्यान गुमाएका मनोज जोसि, झपेन्द्र कार्की र सुरेन्द्र विकको स्मृतिमा संगठनले हरेक बर्षको साउन १५ गते स्मृति दिवस मनाउँदै आएको छ ।