सिङ्गा तातोपानी कुण्डमा सन्ध्याकालीन आरती सुरू

  • ८ श्रावण २०८१, मंगलवार
  • 425 पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा तातोपानीमा सन्ध्याकालीन आरती सुरु गरिएको छ । कुण्डमा स्नान गरेर उपचार र मनोरञ्जन लिन आउने पर्यटकहरूलाई लक्षित गरेर सन्ध्याकालीन आरती सुरु गरिएको हो। प्राकृतिक उपचारका रूपमा प्रसिद्ध तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालीन आरती गर्न थालिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।


सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको पहिलो सोमबार पारेर सन्ध्याकालीन आरती सुरु गरेको हो । समितिका अध्यक्ष कृष्ण खड्का र पूर्व अध्यक्ष वीरेन्द्रमान शाक्यले आरतीको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललगायत सुरक्षा अधिकारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायत जनप्रतिनिधिको पनि उपस्थिति थियो ।
बागलुङबाट जनशक्ति ल्याएर अहिले हरेक हप्ताको सोमबार साँझ आरती गर्न सुरुवात गरिएको समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो । प्राकृतिक उपचार र पर्यटकीय स्थल तातोपानीलाई धार्मिक रूपमा पनि प्रवर्द्धन गर्न स्थानीय जनशक्ति तयार पारेर आरतीलाई निरन्तरता दिने उहाँको भनाई छ ।
म्याग्दी नदीको किनारमा शिव मन्दिर र तातोपानीको कुण्ड परिसरमा भजन कीर्तन र धार्मिक विधि अनुसार आरती गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरूलाई लक्षित गरेर सुरु गरिएको सन्ध्याकालीन आरतीले धार्मिक पर्यटकीय स्थलको रुपमा समेत तातोपानीलाई परिचित गराउने अपेक्षा गरिएको छ ।
जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने यहाँ शरीर डुबाएर स्नानका लागि वार्षिक २० हजारभन्दा बढी पाहुनाहरू आउने गर्दछन् । आरती शुभारम्भको अवसरमा स्थानीयवासी र भक्तजनले भजनकीर्तनसहित नाचगान गरेका थिए । कार्यक्रममा सहभागी बनेपा ४ बास्कुना घर भई हाल न्युजिल्याण्ड निवासी एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीले कुण्डलाई ५१ हजार रुपियाँ सहयोग गर्नुभएको थियो । आरतीका लागि अन्य दाताले पनि सहयोग गर्नुभएको थियो ।