बर्षाको कारण जग भासिएपछि जनता माविको तीन कोठे विद्यालय भवन भत्कियो

  • २८ असार २०८१, बिहीबार
  • 533 पटक पढिएको

म्याग्दी , २७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेका जनता माध्यमिक विद्यालयको तीन कोठे भवन भत्किएको छ । अबिरल बर्षाको कारण भवनको जग भासिएपछि विद्यालयको तीन कोठे कच्ची कक्षाकोठा रहेको भवन भत्किएको हो ।
विद्यालयको भवन भत्किएपछि विद्यालय नजिकै रहेको स्थानीय इन्द्रमान थजालीको एक तले घर समेत पुरिएको विद्यालयका प्रधानध्यापक खड्क गर्बुजाले जानकारी दिनुभयो । विद्यालयको भत्किएको भवनको ढुंगामाटोले पुरिएर थजालीको घर समेत पूर्ण रुपमा क्षति भएको छ ।
विद्यालयको करिब तीन दशक अघि निर्माण भएको उक्त कक्षाकोठा भवनमा तीन वटा कक्षाको पठनपाठन हुँदै आएको थियो । भवन भत्किएपछि विद्यार्थीहरुको कक्षा व्यवस्थापनमा समेत समस्या हुने विद्यालयले जनाएको छ । विद्यालयमा अहिले १२६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।