थाली नाचको पुस्ता हस्तान्तरण र संरक्षण गर्न तालिम प्रदान

  • १८ असार २०८१, सोमबार
  • 685 पटक पढिएको

म्याग्दी  ,१६ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरुवात भएको थाली नाचको संरक्षण र पुस्तान्तरणको लागि नयाँ कलाकारहरुलाई प्रशिक्षण दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति, म्याग्दीले सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा नयाँ कलाकारहरुलाई थाली नाचको प्रशिक्षण दिएको हो । बेनीमा एक सातासम्म सञ्चालन भएको तालिममा नयाँ कलाकारहरुलाई थाली नाच नाच्ने सिप सिकाईएको छ । 
पछिल्लो समय देश तथा विदेशमा लोकप्रिय बनेको थाली नाचको मौलिकता हराएर जान नदिन र नयाँ पुस्तामा थाली नाचको सिप सिकाउन तालिम सञ्चालन गरेर प्रशिक्षण दिइएको नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकबहादुर पुनले बताउनुभयो । ‘‘थाली नाचलाई म्याग्दीकै चिनारीको रुपमा लिने गरिएको छ, यसको संरक्षण गर्न नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न पनि तालिम उपलब्धीमुलक बनेको छ, तालिममा सहभागी सबैजना थालीनाच देखाउन सक्षम बन्नुभएको छ’’– उहाँले भन्नुभयो ।
तालिममा ३२ जनाले सहभागीता जनाउनुभएको थियो भने चर्चित थाली नाचका कलाकार खिमा पुर्जाले तामिममा थाली नाच नाच्ने सिप सिकाउनुभएको थियो । दुई हातमा थाल राखेर गीतको लय र भाकामा छमछमी नाच्ने थाली नाच हेर्दा आकर्षक देखिन्छ । पछिल्लो समय थाली नाच विदेशमा रहेका नेपालीहरुमाझ समेत लोकप्रिय बनेको छ । म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव तथा सभा, समारोह,सम्मेलन लगायतका कार्यक्रममा समेत थाली नाच देखाउने गरिएको छ ।
करिब पाँच दशक अघि चिमखोलाकी हिरामाया श्रीषले पहिलो पटक थाली नाच देखाउनुभएको थियो । श्रीसले २०२८ सालमा राष्ट्रिय स्तरको कार्यक्रममा राजधानीमा आयोजीत एक कार्यक्रममा थाली नाचको एकल नृत्य देखाएपछी यो नाचले राष्ट्रिय चिनारी बनाएको थियो । २०४२ सालमा विरगंजमा भएको राष्ट्रिय लोकनृत्य प्रतियोगीतामा धौलागीरी अञ्चलबाट प्रतिनिधित्व गर्दै चिमखोलाकै धन कुमारी थापाको नेतृत्वमा ४ जना महिलाहरुले देखाएको थाली नृत्य नै उत्कृष्ट भएपछि यो नाचले चर्चा बटुलेको थियो ।
काठमाण्डौमा २०४४ सालमा भएको रार्क सम्मेलनमा समेत म्याग्दीबाट थाली नृत्य झिकाएर देखाईएकाले स्थानीय स्तरबाट सुरु भएको यो नृत्यलाई अन्र्तराष्ट्रियकरण गर्नका लागी ठुलो योगदान पुगको चिमखोलाकी थाली नाचकी अगुवा कलाकार धनकुमारी थापाको भनाई छ । दुवै हातमा थाल राखेर भुईमा नखसालिकन छमछमी नाचिने थाली नाच अनौठौ र आकर्षक मौलिक संस्कृतिको रुपमा लिने गरिएको छ ।