साम्तुङ–सोता सिचाई आयोजनाको पक्कि नहर निर्माण

  • २९ जेष्ठ २०८१, मंगलवार
  • 287 पटक पढिएको

म्याग्दी, २९ जेठ ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत पछिल्लो २ आर्थिक वर्षयता १ किलोमिटर भन्दा बढी पक्कि नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोम बहादुर आलेले जानकारी दिनुभयो ।

“४ किलोमिटर कुलो मध्य गत वर्ष ५७० मिटर र चालु आर्थिक वर्षमा ५६५ मिटर पक्कि नहर निर्माण भएको छ,” उहाँले भन्नुभयो “सोता देखि मुहानतर्फ आगोवाङ भन्ने ठाउँसम्म पक्कि नहर बनिएको छ । थप ३ किलोमिटर बढी पक्कि नहर बनाउन आवश्यक छ ।” साम्तुङ–सोता सिचाई आयोजनालाई गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० र ०८०÷०८१ का लागि रु. बीस÷बीस लाख बजेट बिनियोजन गरेको थियो । मंगला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसीएर थोरै मात्र पुग्ने समस्या भएपछि पक्कि नहर बनाउन थालिएको सोताका बासिन्दा सर्वलाल थापाले बताउनुभयो ।

यो आयोजनाबाट अर्चेखोला, आगोवाङ, सोतामा १०० जना भन्दा बढी कृषकको १ हजार रोपनी क्षेत्रफल जमिनमा बाह्ै महिना सिचाई सुविधा पुग्ने उहाँले बताउनुभयो । गत फागुन महिनादेखि शुरु गरेको नहर निर्माणको सम्झौता अनुसारको काम सकेर मंगलबार बिहानदेखि पानी चलाउन थालिएको उपभोक्ता समितिले जनाएको छ । पक्कि नहर बनेपछि धानको ब्याड राख्न, मकै, गहुँमा सिचाई गर्न र समयमै रोपाई गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर रोकाले बताउनुभयो । साम्तुङ–सोता सिचाई आयोजनालाई पञ्चिवर्षीय योजनाको रुपमा पूर्णता दिन गण्डकी प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरेको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताउनुभयो ।

खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा जिल्लामा ६० वटा सिचाई आयोजना सञ्चालन गरेको छ । अधिकांश आयोजना मार्फत कच्चि कुलोलाई पक्कि बनाइएको र पाईपलाइन जडान भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताउनुभयो । ५८ वटा योजना उपभोक्ता समिति र २ वटा बहुबर्षीय ठेक्का मार्फत कार्यान्यन्वयन गरिएको छ । उपभोक्ता समितिसँग सम्झौता भएका सबै योजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका सव ईञ्जिनियर अञ्जन खत्रीले बताउनुभयो । रासस