महिला सहकारीहरुलाई सूचना प्रणाली सम्वन्धी तालिम सुरु
- २४ माघ २०८०, बुधबार
- 531 पटक पढिएको
म्याग्दी, २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा महिला सहकारी संस्थाका प्रवन्धकहरुलाई सहकारी तथा गरिबी सम्वन्धी (सूचना प्रणाली) COPOMIS सम्वन्धी तालिम सुरु भएको छ । गाउँपालिकाभित्र रहेका महिला सहकारीका प्रवन्धक र लेखापालहरुका लागि दुई दिने तालिम सञ्चालन गरिएको हो ।
तालिममा गाउँपालिकाभित्र रहेका नौ वटा महिला सहकारीबाट प्रतिनिधिहरुले सहभागीता जनाएको रघुगंगा गाउँपालिका स्तरीय सहकारी संघका अध्यक्ष मुक्तिनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, महिलाहरुद्धारा सञ्चालिन सहकारीहरुको आर्थिक कारोबारलाई व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि उक्त तालिम सञ्चालन गरिएको ।
तालिममा रघुगंगा गाउँपालिकाका कार्यक्रम अधिकृत पदम भण्डारीले सहजीकरण गर्नुभएको छ । तालिमको उद्घाटन गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ६का अध्यक्ष मनकुमार शेरपुञ्जाले गर्नुभएको थियो । उहाँले गाउँ गाउँमा रहेका सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र आर्थिक कारोवारलाई प्रविधिमैत्री बनाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले सहकारी संस्थाहरुमा समुदायका धेरै जनाको आर्थिक कारोबार जोडिने भएकाले सहकारीका लेखापाल, प्रवन्धक लगायतको क्षमता विकास गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।