बेनीमा अन्तर मावि छात्रा रनिङ शिल्ड फुटवल प्रतियोगिता हुँदै
- २६ श्रावण २०७४, बिहीबार
- कमल खत्री
- 3111 पटक पढिएको
म्याग्दी, २६ साउन । हरितालिका तिजको अबसरमा म्याग्दी सदरमुकाम बेनीमा अन्तर मावि छात्रा रनिङ शिल्ड फुटवल प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास सतितिको आयोजनामा आगामी भदौ ७ र ८ गते बेनी स्थित खुलामञ्चमा कक्षा १० सम्मका छात्राहरुको लागि सो प्रतियोगिता आयोजना गरिएको हो ।
जिल्लामा फुटबल खेलप्रति बढ्दै गएको रुचिलाई मध्यनजर गर्दै फुटबल खेल मा महिला खेलाडीहरुको समेत आकर्षण बढाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले बताउनुभयो । उहाँले अहिले निकै न्युन मात्रामा जिल्लामा महिला तथा छात्राहरुको फुटवल प्रतियोगिता हुने भएकाले यसलाई व्यापकता दिनको लागि प्रतियोगितालाई हरेक बर्ष निरन्तरता दिने गरि रनिङ शिल्ड प्रतियोगिताको रुपमा सञ्चालन गरिने बताउनुभयो ।
प्रतियोगितामा बिजयी हुने टिमलाई नगद रु १५ हजार उपबिजेतालाई रु ९ हजार सहित शिल्ड मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १५ सय तथा अनुशासित टिमलाई नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने समितिले जनाएको छ । सो अबसरमा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम सहित लोकनृत्य प्रदर्शन संगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा विभिन्न पदक बिजेता म्याग्देली खेलाडीहरुलाई सम्मान समेत गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि जिल्ला खेलकुद विकास समितिका सदस्य मनकुमारी विश्वकर्माको संंयोजकत्वमा आबश्यक तयारीलाई समेत तिब्र पारिएको छ ।
समितिले विहिवार बेनीमा पत्रकार सम्मेलन गरि तयारीबारे जानकारी दिएको छ । जिल्लाका विभिन्न ८ बढी विद्यालयबाट सहभागिता जनाउने अनुमान गरिएको प्रतियोगिता सञ्चालनको लागि रु १ लाख ४२ हजार खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष दिनेश केसीले बताउनुभयो । प्रतियोगितामा एउटा विद्यालयबाट एकभन्दा बढी टिमले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l