घारमा उद्घोषण सम्बन्धी तालिम शुुरु

  • १८ माघ २०८०, बिहीबार
  • 473 पटक पढिएको

घार, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बिहिबारदेखि उद्घोषण सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा खिवाङ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तालिममा ४६ जनाको सहभागिता रहेको छ । आमा समूह, युवा क्लव, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समूहका प्रतिनिधिहरुको तालिममा सहभागिता रहेको छ ।

औपचारिक कार्यक्रम, बैठक सञ्चालन र प्रभावकारी भाषणकलाको सिप सिकाएर क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरेको वडा सदस्य पुष्पा बानिया बरुवालले बताउनुभयो । गत वर्ष घोडेपानीमा आयोजना गरिएको उद्घोषण कला सम्बन्धी तालिम प्रभावकारी भएकाले यसपाली अन्य टोलका बासिन्दालाई लक्षित गरेर घारमा आयोजना गरेको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

अन्नपूूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेश बहादुर कटुवालले साक्षरता अभियान सञ्चालन र त्यसको निरन्तरताको लागि स्थापना भएका सामुदायिक सिकाई केन्द्रलाई पछिल्लो समय सिप विकास र आयआर्जनमुलक क्रियाकलापमा जोडिएको बताउनुभयो ।

घराम्दीमा चिमखोले डोको बुन्ने तालिम सञ्चालन भएको छ । नारच्याङमा बिहिबारदेखि अभिभावक शिक्षा कार्यक्रम शुरु भएको छ । भुरुङ तातोपानी सामुदायिक सिकाई केन्द्रको आयोजनामा होमस्टे र नमुना कृषि फार्म अवलोकन भ्रमण आयोजना गरिएको छ ।

नागी सामुदायिक सिकाई केन्द्रको आयोजनामा होमस्टे र आतिथि सत्कार सम्बन्धी तालिम आयोजना गरिने भएको छ । वडा सचिव शिवराज जैसीले तालिम उद्घाटन कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

तालिमको म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रेखाकौशल रेग्मी, गाउँपालिकाका शिक्षा अधिकृत गणेश बरुवाल र पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतमले सहजिकरण गर्नुहुने जनाइएको छ ।