भीरबाट खसेपछि लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्वुजा

  • ६ माघ २०८०, शनिबार
  • कमल खत्री
  • 2232 पटक पढिएको

कमल खत्री
म्याग्दी ६ माघ । भीरबाट खसेर घाइते नभएको भए लोक गायक खड्ग गर्वुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सिमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परिक्षामा उर्तिण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका खड्ग गर्वुजा भीरबाट खसेर शारीरिक अपांगता भएपछि उहाँको लाहुरेको सपना गायनतर्फ मोडियो ।
वि.स.२०४३ पुस ८ गते घाँस काट्ने क्रममा भीरबाट खसेर शक्त घाईते हुनुभएका गर्वुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि शारीरिक अपांगता हुनुभएको थियो । लाहुरे बनेर घरपरिवारको सपना पूरा गर्ने गर्वुजाका पाईला भीरबाट लर्किएपछि अधुरा रहेनै, गर्वुजा परिवारमा संकट, अभाब र समस्याहरु झनै झाङ्गीने निश्चित भयो । आर्थिक अभाब र स्वास्थ्य सेवाको पहुँच नभएका कारण समयमै उपचार गराउन नसकेर अपांगता हुनुभएका गर्वुजा आफ्नै हिम्मत र निरन्तरताको प्रयासले सफल र लोकप्रिय गायकको पहिचान बनाउन सफल हुनुभएको छ ।
ह्विल चेयरमा चढेर जव गर्वुजा मञ्चहरुमा माइक समाउन पुग्नुहुन्छ, तब युवायुवति देखि बृद्धबृद्धाहरु सम्मलाई नचाउने गर्नुहुन्छ । परम्परागत लोक भाकाहरुमा गीत गाउने गायक गर्वुजाले धौलागिरि क्षेत्रमा गुन्जने शिरफुल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाकाहरुको संरक्षण हुने गीतहरु तयार गर्नुभएको छ ।
दुःख–सुख, मायाप्रेम, गाउँघरका उकाली ओरालीका कथाव्यथाहरुलाई टपक्कै टिपेर आफ्नो सिर्जनामा राख्न सिपाली गायक गर्वुजालाई नयाँ कलाकारहरुले मौलिक कला संस्कृतिका सर्जक र संरक्षकका रुपमा चिन्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा बताउनुहुन्छ । ‘‘ संघर्षको भूमरीबाट फर्किएको सुन्दर फुल जस्तै हो उहाँ, गाउँमा मेलापात गर्दा सिर्जना भएका भाकाहरुलाई अभिलेख गराउने र राष्ट्रिय स्तरमै पहिचान गराउन उहाँले सिर्जना गरेका गीतसंगीतले ठूलो योगदान पु¥याएको छ,’’–विश्वकर्मा भन्नुहुन्छ ।
शारीरिक रुपमा अपांगता रहनुभएका गर्वुजा अहिले स्वदेशमा मात्रै होइन, प्रवासमा रहेका नेपालीहरुमाझ पनि उत्तिकै लाकेप्रिय कलाकारको रुपमा परिचित हुनुहुन्छ । हेर्दाहेर्दै मायाले सोलेडाँडा काट्यो मायाले, बेनी बजार कालीगण्डकी, पानि खायो बाघैले, सुन मुरलीलाई, छ फुल बनैमा लगायतका मर्मस्पर्शी भाकाहरु सिर्जना गर्नुभएका गर्वुजाको गायन यात्रा जीवनकै कहालीलाग्दो दुर्घटनाबाट सुरु भएको थियो । ‘‘ परिवारको पनि चाहना म लाहुरे भैदिए हुने भन्ने थियो, भारतीय सेनामा भर्ति हुन फाइनलसम्म पुगेर बाहिरिएको थिए, त्यतिबेलै गलेश्वरमा बेलायती सेनाको भर्ति लिन गल्ला आएको सूचना पाएपछि, त्यहाँ गएर शारीरिक व्यायामको परिक्षा दिए, पहिलो चरणमा उत्र्तिण भएर गाउँ गएको थिएँ, घाँस काट्न भीरमा गएको बेला लडेपछि रुखमा अड्कीन पुगेँ, त्यो घटनाबाट म त बाँचे तर मेरो लाहुरे बन्ने सपना त्यहि म¥र्यो’’–गायक गर्वुजा भन्नुहुन्छ ।
बेनी, पोखरा हुँदै बिर अस्पताल सम्म उपचारको लागी गएपनी ढिला गरि अस्पताल आएको कारण पूर्ण रुपमा उपचार सम्भव नहुने चिकित्सकहरुको जवाफ लिएर घर फर्किएका गर्वुजाले मौलिक बाजाको रुपमा चिनिने मौरीबाजा बनाउने, बजाउने र गाउँका स्थानीय भाकाहरु गाउन थाल्नुभएको थियो । गर्वुजाका दाई समेत सानै उमेरमा रुखबाट खसेर अपांगता हुनुहुन्थ्यो । ‘‘ घरका दुई छोराहरु त अपांगता बन्यौ, त्यहि समयमा घरमा आमा समेत पक्षघातको विरामी पर्नुभयो, हामी दुई अपांगता भएका दाजुभाईको स्याहार गर्ने आमा समेत थला परेपछि म पुनस्र्थापनाको खोजीमा घर छाडेर भौतारिएको हुँ’’–गर्वुजाले भन्नुभयो ।
घर छाडेपछि सदरमुकाम बेनीका चोक–चोकमा गीत गाउने र मौरीबाजा बजाउने गर्वुजाको दैनिकी बन्यो । बेनी, बागलुङका बजार हुँदै काठमाण्डौ पुगेर गीत गाउँदै दुःखका कथा सुनाउँदै गर्वुजाले सडकबाट जीवनको कठिन संघर्ष सुरु गर्नुभएको थियो । २०४७ सालमा पुनस्र्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाण्डौ पुग्नुभएका गर्वुजाले रेडियो नेपालको चौतारी कार्यक्रममा सहभागी बनेर आफुलाई गायनमा निखार ल्याउने अवसर पाउनुभयो ।
रेडियो नेपालको स्वर परिक्षणमा उत्तिर्ण भएपछि गीत संगीतबाटै आफुलाई अघि बढाउने संकल्प गर्नुभएका गर्वुजाको पहिलो गीत रेकर्ड गर्दाको दिनमै घरमा आमाको निधन भएको थियो । ‘‘ फोनको सुविधा थिएन, चिठि पठाउनुपथ्र्यो घरको हालखवर बुझ्नलाई, मैले पहिलो गीत ‘दुखको भूमरी’ रेकर्ड गराउने दिनमै आमा बित्नुभएछ, त्यो खवर मैले काठमाण्डौमा भेटिनुभएका आफन्तबाट करिब तीन महिनापछि मात्रै थाहा पाएँ’’–गर्वुजाले विगत सुनाउनुभयो ।
करिब ९ सय गीतमा स्वर भर्नुभएका गायक गर्वुजा करिब दुई दर्जन विदेशी भूमिमा पुगेर समेत आफ्नो साँगेतिक प्रस्तुती राख्नुभएको छ । गायन संगसंगै बाध्यबाधनतर्फ समेत सिपालु रहनुभएका गर्वुजाले वि.स. २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर बाध्यवादनको काम समेत गर्दै आउनुभएको छ । लोपउन्मुख नेपाली मौलिक बाजा मौरी बाजाका सर्जग समेत रहनुभएका गर्वुजाले मादल, बाँसुरी, हार्मोनियम लगायतका बाध्यबाधन समेत बजाउनुहुन्छ ।
वि.स. २०५९ सालमा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानीत गर्वुजा म्याग्दीमा समेत विभिन्न संघ संस्थाबाट सम्मानीत भैसक्नुभएको छ । हालै गर्बुजाको गृह गाउँपालिका धवलागिरि गाउँपालिकाले गर्वुजालाई उत्कृष्ट श्रष्टाको रुपमा सम्मान समेत गरेको छ । ‘‘ अपांगता भएपछि केहि गर्न सकिदैन भन्ने भास्यलाई उहाँले गलत सावित गरिदिनुभएको छ, निरन्तरको मेहनत र लगाबले व्यक्तिमा रहेको फरक क्षमताको पहिचान र चिनारी सम्भव हुन्छ भन्ने उदाहरण गर्वुजा बन्नुभएको छ’’–धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले भन्नुभयो ।
गाउँमा कक्षा ६ सम्मको अध्ययन गर्नुभएका गर्वुजाले काठमाण्डौ पसेर कलाकारितामा आफुलाई निखार मात्रै ल्याउनुभएन, बिचैमा छाडेको पढाईलाई स्नातक तहसम्म निरन्तरता दिनुभयो । गर्वुजाका दुई छोरीहरु अध्ययनको शिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ भने उहाँ हाल श्रीमती र बुबासंग काठमाण्डौमा बसोबास गर्नुहुन्छ । बाद्यबादन र गीत रेकर्ड गराउनुका साथै विभिन्न मेला, महोत्सव र साँगेतिक कार्यक्रमहरुमा गर्वुजाको दैनिकी व्यस्त हुने गरेको छ ।    रासस

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l