नेकपा एमाले म्याग्दीको दशौँ अधिबेशन माघ १२ र १३ गते बेनीमा हुने

  • २० पुष २०८०, शुक्रबार
  • 257 पटक पढिएको

नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको छ । पार्टी कार्यालय हाडेभिरमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले आसन्न अधिबेशनको बारेमा जानकारी गराउनुभयो ।

उहाँले अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि रहने जानकारी दिंदै म्याग्दीमा एमालेका तीन हजार चार सय पार्टी सदस्य रहेका र अन्य समुदायबाट २०, महिला १५ र दलित १० जना बराबर एक जना प्रतिनिधि छनौट हुने बिधानतः ब्यबस्था रहेकोबताउनुभयो । उहाँका अनुसार समावेशीमा छुटेकाहरु भएमा १२ जना प्रतिनिधि मनोनित गर्ने व्यवस्था समेत रहेको छ ।

माघ ५ गतेभित्र प्रतिनिधि छनौट गरेर सिफारिस गर्न वडा कमिटिलाई परिपत्र गरेको अध्यक्ष केसीले बताउनुभयो । ४५ वटा वडागत रुपमा २४० जना प्रतिनिधि आउने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । पत्रकार सम्मेलनमा अधिवेशनका लागि नारा र लोगो सार्वजनिक गरिएको थियो । दशौँ अधिवेशनका लागी “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ ।

अधिबेशन सफल बनाउनका लागी विभिन्न ७ वटा उपसमिति गठन गरेर अधिवेशनको तयारी सुरु गरेको एमाले म्याग्दीले जनाएको छ । अधिवेशनको उद्घाटनका लागी प्रमुख अतिथिको टुंगो केन्द्रिय कमिटिको सचिवालले लगाउने एमालेका केन्द्रिय सदस्य भूपेन्द्र थापाले बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवं एमाले म्याग्दीका निबर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका उपसचिव एवं जन संगठन समन्वय संयन्त्रका संयोजक थमसरा पुन लगायतको उपस्थिति रहेको थियो ।