पदमार्ग बनाउने श्रम शिविरमा पुगेर मन्त्री र नेताहरुको हौसला

  • २७ मंसिर २०८०, बुधबार
  • 339 पटक पढिएको

बेनी, २७ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–२ माछखर्कमा श्रमदान अभियानबाट निर्माण गर्न लागिएको पदमार्गमा मन्त्री, प्रदेशसभा सदस्य र नेताहरुले श्रमदान गर्नुभएको छ । माछखर्कदेखि कुनौटाघाट जोड्ने जिर्ण गोरेटोबाटोको पुननिर्माणमा माओवादी केन्द्रको वडा कमिटीले सञ्चालन गरेको श्रमदान अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा बुधवार नेताहरुले श्रमदान गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समितिका संयोजक समेत रहनुभएका जुग्जाली, प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, पार्टीका प्रदेश सचिबालय सदस्य समेत रहनुभएका पुर्व प्रेदश सभा सदस्य विनोद केसी, पार्टीको गण्डकी प्रेदश कमिटी सदस्य रिम कटुवाल, बेनी नगर कमिटीका सचिब ज्ञानेन्द्र सुवेदी, पार्टीको जिल्ला समन्व्य समितिका सदस्य नरबहादुर भण्डारी लगायतको टोलीले बुधवार दिनभर श्रमशिविरमा श्रमदान गर्नुभएको थियो ।
पार्टीको जिल्ला समन्वय समितिबाट एक दर्जन बढीले बुधवार पदमार्ग बनाउन श्रमदान गर्नुभएको जनाइएको छ । गत असोज १८ गतेदेखि नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले गाउँदेखि मुलसडक जोडिने जिर्ण पदमार्गको पुननिर्माणमा श्रमदान अभियान सुरु गरेको थियो । पार्टीले सुरु गरेको कार्यक्रममा स्वतस्फुर्त रुपमा समुदाय नै श्रमदान र सहयोगमा जोडिनेक्रम बढेपछि पदमार्ग निर्माणले निरन्तरता पाएको अभियानको नेतृत्व गर्नुभएका वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो ।
‘‘ हामीले चलाएको श्रम शिविरमा आज मन्त्री र सांसदहरु पनि श्रमदानमा जोडिन आउनुभयो, उहाँहरुले श्रमशिविरमै आएर श्रमदान गर्दा हामीलाई थप हौँसला थपिएको छ, समुदाय र देश तथा विदेशमा छरिएका स्थानीयबासीले सक्दो सहयोग गर्नुभएको छ, निकट भविश्यमै हामीले लक्ष्य लिएको ठाउँसम्मको काम सम्पन्न गर्छौँ’’– कटुवालले भन्नुभयो । उहाँका अनुसार, अहिलेसम्म करिब एक किलोमिटर चार सय मिटर पक्कि पदमार्ग निर्माण भैसकेको छ । श्रमदान र सहयोगबाट पदमार्ग निर्माणले पूर्णता नपाएमा मन्त्री र प्रदेश सभा सदस्यहरुलाई आबश्यक बजेटको लागि माग समेत गरिने कटुवालले बताउनुभयो ।
यसैबिच श्रमदान अभियानमा पुगेको नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समितिको टोलीले पदमार्ग निर्माण अभियानमा आर्थिक सहयोग समेत गरेको छ । पार्टीको वडा कमिटीले सञ्चालन गरेको माछखर्क–कुनौटाघाट पदमार्ग र स्थानीय युवाहरुले समेत हालै सुरु गरेको सिरवारी आर्यघाट देखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण अभियानमा रु १०÷१० हजार नगद सहयोग प्रदान गरेको हो । श्रमशिविरमा श्रमदान गर्नुभएका मन्त्री जुग्जालीले राज्यले गर्नुपर्ने काममा समुदायकै श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरि उदाहरणीय काम गरेको भन्दै अभियानमा जोडिनेहरुको प्रसंसा गर्नुभयो ।
पदमार्ग निर्माणमा स्थानीयबासीले एक महिनासम्म श्रमदान गरेका छन । सहयोगदाता मार्फत संकलन भएको रकमबाट बालुवा, गिटी, सिमेन्ट लगायतका निर्माण सामाग्रीको व्यवस्थापन तथा थप जनशक्ति परिचालन गरेर पदमार्ग निर्माणलाई निरन्तरता दिने गरिएको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताउनुभयो । यो अभियानमा अहिलेसम्म १६ लाख बढी सहयोग संकलन भएको जनाइएको छ । अहिले दैनिक रुपमा १५ जनालाई ज्याला नै दिने गरि पदमार्ग निर्माणमा परिचानल गरिएको छ ।
बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जिर्ण बाटो चिटिक्क र सहज बन्न थालेको छ । ज्यालामा काम गर्नेहरुसंगै श्रमदान गर्नेहरु पनि दैनिक रुपमा पदमार्ग निर्माणमा जुट्ने गरेका छन् भने विभिन्न टोल र बस्तीका आमा समूहहरुले श्रमशिविरमा खाजाको बन्दोबस्त गरिरहेका छन् । आवत जावत गर्न सहज हुने गरि पदमार्गलाई साढे १ मिटर फराकिलो बनाइएको छ । भिरालो पाखोमा बनाईएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लीएर लड्ने समस्या रहेकोमा पदमार्ग निर्माण भएपछि स्थानीयबासीलाई सहज भएको छ । (रासस)