पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज बन्दै

  • १७ मंसिर २०८०, आईतवार
  • 218 पटक पढिएको

बेनी, १७ मंसिर : उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तरगत बेनीदेखि मुस्ताङको कोरला सम्मको सडकमा पक्की पुल निर्माणले तिब्रता पाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नती भैरहेको यस सडकखण्ड अन्तरगत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म १६ वटा मोटरेबल पुल निर्माण भइसकेका छन् ।
पक्की मोटरेवल पुल निर्माण हुन थालेपछि खोला खोल्साहरुमा जोखिमपूर्ण तरिकाले सवारी वारपार गराउनुपर्ने बाध्यता हटेको सवारी चालक विकास भण्डारीले बताउनुभयो । ‘‘बेगखोला लगायतका धेरै खोलाखोल्सामा बर्षायाममा ज्यानै जोखिममा राखेर सवारी चलाउनुपथ्र्यो, कतिपटक त सवारी साधन नै खोलाहरुले बगाएका पनि थिए, अब यो समस्या विस्तारै कम हुँदै गएको छ’’– जीप चालक भण्डारीले भन्नुभयो ।

आयोजनामार्फत १३ र सडक विभाग अन्तर्गतको पुल महाशाखाले तीन वटा गरी १६ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो । गलेश्वरस्थित राहुघाट, बेगखोला ,तिप्ल्याङ, पोखरेबगर, दाना, मुस्ताङको लुप्रा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भइसकेको छ ।
यस्तै मुस्ताङको छान्ताङखोला, लेते खोला, लोमान्थाङ खोला, किम्लीङ खोला, नामडोक खोला, भर्माखोला, स्याङखोला र घट्टेखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको आयोजनाले जनाएको छ ।

रुप्से झरना, मुस्ताङको खहरेखोला, सेता खोला, पाण्डाखोला र लेतेखोलामा पुल निर्माणका लागि प्रस्ताव गरिएको इन्जिनियर चापागाईले जानकारी दिनुभयो । बेनी–जोमसोम–कोरला खण्डका विभिन्न ८ स्थानमा पक्की मोटरेवल पुल निर्माणाधीन अवस्थामा रहेको आयोजनाका इन्जिनियर चापागाईँले बताउनुभयो ।
यसैगरी, पुल महाशाखामार्फत मुस्ताङको थापाखोला र बोक्सीखोलमा पुल निर्माणका लागि खरिद प्रक्रिया थालिएको छ । बाँकी स्थानमा पुल निर्माणका लागि आयोजनाले अध्ययन गरिरहेको जनाएको छ । पर्वतको मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय ८ किलोमिटर दूरीको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक विगत सात वर्षदेखि स्तरोन्नति सहित कालोपत्रे योजना सञ्चालन गरिएको छ ।