बेनीनगरभित्र अटो रिक्सा सञ्चालनको लागि रुट कायम
- १५ मंसिर २०८०, शुक्रबार
- 353 पटक पढिएको
बेनी, १५ मंसिर : म्याग्दीको बेनी नगरपालिका भित्र अटो रिक्सालाई व्यवस्थित रुपमा सञ्चालनको पहल थालिएको छ । नगरपालिकाभित्र सर्वसाधारणको सुविधाको लागि अटो रिक्सालाई सञ्चालनमा ल्याईएको छ । बेनीमा सञ्चालित अटो रिक्सालाई नयाँ रुट कायम गरिएको छ । नगरपालिका भित्र कालोपत्रे, ढलान र स्तरोन्नती गरिएको सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो ।
बिहिबार नगर प्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने फापरखेतका पुलसम्म, बेनपा–९ गलेश्वरको बेलिब्रिज, बेनपा–६ अर्थुङेको ढलान, बेनपा–२ र ३ को सिमान ढुधेखोलासम्म नयाँ रुट तय गरिएको बेनी नगरपालिकाका प्रशासकीय अधिकृत यूवराज थापाले जानकारी दिनुभयो ।
अटोरिक्सालाई कच्ची सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी रुट बाहेक सञ्चालन गरेमा जरिवाना गरिने नगरपालिकाले जनाएको छ । अटो रिक्साका लागि कायम गरिएका रुटमा नगरपालिकाबाट इजाजत लिएका अटो रिक्सा मात्रै सञ्चालन गरिने बताइएको छ । यात्रुले अटो रिक्सामा सवार गर्दा प्रतिकिलोमिटर साढे ७ रुपैयाँ भाडा समेत निर्धारण गरिएको छ ।
अटो रिक्साले कच्ची सडकमा यात्रु बोक्दा दुर्घटनाको जोखिमलाई समेत मध्यनजर गरी नियमित अनुगमन तथा अटो रिक्साका चालकहरुलाई समेत सचेत बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि नै बनाएकाले नियमसम्वत तरिकाले अटो रिक्सा सञ्चालन गर्न चालकहरुलाई अनुरोध गरिएको नगरपालिकाका मेयर केसीले बताउनुभयो । उहाँले तोकिएको रुटबाहेक अटो सञ्चालन गरिएमा कारवाही गर्ने समेत बताउनुभयो । बेनी नगरपालिकाभित्र १० वटा अटो रिक्सा सञ्चालनको अनुमति भएपनि हालसम्म ६ वटाको नम्बर कायम गरिएको छ भने ४ वटाको रुट कामय गरिने जनाइएको छ ।