भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री

  • १ कार्तिक २०८०, बुधबार
  • 245 पटक पढिएको

जोमसोम, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ ।

बुधबार मुस्ताङमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

 

यसैगरी, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) मुस्ताङ जिल्लाको भेलालाई सम्बोधन र विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ । मुस्ताङमा १३५ नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

 

भेलामा प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौँ । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ । सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ । हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौँ ।’’

 

उहाँले थप्नुभयो, “मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु । मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ । सबै सूचकहरू सकारात्मक छन् । जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ । तसर्थ, सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरुरी छ । यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ ।’’

 

प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ सङ्कट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताउनुभयो ।

 

भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो ।

 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतको उपस्थिति रहेको थियो । रासस