तेस्रो एभरग्रीन कप फुटवलको उपाधि क्याम्पसचोकको पोल्टामा

  • २१ श्रावण २०७४, शनिबार
  • कमल खत्री
  • 2533 पटक पढिएको

म्याग्दी २१ साउन । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न तेस्रो एभग्रीन कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड कल्व बिजयी भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको खुलामञ्चमा शनिवार सम्पन्न फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई एकका विरुद्ध दुई गोल गर्दै क्याम्पसचोक युथ युनाईटेडका खेलाडीहरुले उपाधी जितेको हुन् ।

प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेडका रवीन्द्र कुँवरले दुई गोल गरेका थिए भने माउन्टका बिजय श्रेष्ठले प्रतियोगिताको अतिरिक्त समयमा एक गोल गरेका थिए । प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु ८० हजार र रु ४५ हजार पुरस्कार हात पारेका छन् ।

बिजेता र उपबिजेता खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, पूर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ, क्लब अध्यक्ष ललित पुर्जा, लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सो प्रतियोगितामा ४२ समहुले सहभागिता जनाएका थिए । प्रतियोगितामा न्यु दोभान ‘ए’ समुहलाई अनुशासित टिमको ट्रफि सहित नगद रु १० हजार र उत्कृष्ट टिम परिचालनमा पिपलबोट समुहलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट ड्रेस टिममा जेपीसी दरवाङले नगद ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा माउन्टका बिरेन गुरुङ उत्कृष्ट खेलाडी, एभरग्रिन ‘ए’का सवीन खड्का उत्कृष्ट डिफेन्डर, माउन्टका बिजय श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, क्याम्पसचोकका विश्वास क्षेत्री उत्कृष्ट गोलकिप्पर र पाँचपाँच गोल गरेका एभरग्रीनका साजन गर्बुजा र फ्युचर फुटवल क्लब बागलुङका सुरज हमालले जनही रु ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

पुरस्कार वितरण समारोहको क्लबका सचिव धनबहादुर घर्ति मगरले सञ्चालन गर्नुभएको थियो । सामाजीक रुपान्तरण हाम्रो अभियान भन्ने नाराका साथ स्थापना भएको क्लबले तीन बर्षदेखि लगातार बेनीमा हरेक बर्ष सेभेन ए साईड कप फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l