बेनी–भकिम्ली सडक स्तरोन्नती योजना सञ्चालनको तयारीमा : भौतिक पूर्वाधार तथा यातायात मन्त्री जुग्जाली

  • २९ आश्विन २०८०, सोमबार
  • 331 पटक पढिएको

म्याग्दी, २८ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयको भवनको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले बेनी–भकिम्ली सडक कालोपत्र र स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षीय ठेक्का लगाउने तयारी भएको जानकारी दिनुभयो ।
“बेनी–भकिम्ली सडक योजनाका लागि चालु आर्थिक वर्ष रु. दुई करोड बजेट बिनियोजन भएको छ,” उहाँले भन्नुभयो “रु. दश करोड बजेटको स्रोत सुनिश्चितता गरेर चालु आर्थिक वर्षदेखिनै बहुबर्षीय ठेक्का लगाउने तयारी गरिएको छ ।” बेनी–भकिम्ली लगायत म्याग्दीका ६ वटा ग्रामिण सडक स्तरोन्नति गर्न यस वर्ष बहुबर्षीय ठेक्का लाग्ने जानकारी दिदै मन्त्री जुग्जालीले शुरु भएको सडक कालोपत्र गर्ने कामलाई निरन्तरता दिने बताउनुभयो । गण्डकी प्रदेश सरकारले ग्रामिण क्षेत्रका सडक स्तरोन्नति गरेर सुरक्षित र सहज यात्रा गर्ने वातावरण बनाउन प्राथमिकता दिएको मन्त्री जुग्जालीले बताउनुभयो ।
समुदायको इच्छाशक्ति हुने हो भने विकासका लागि सरकारको मात्र भर पर्नु नपर्ने सन्देश भकिम्लीबासीले सडक, विद्यालय भवन निर्माणका क्रममा दिएका उहाँको भनाई थियो । म्याग्दीमा भित्रिएको बजेटको सफल कार्यान्वयन गर्नतर्फ सरोकारवालाहरुले साथ र सहयोग गर्नुपर्न मन्त्री जुग्जालीले बताउनुभयो । संविधानसभा सदस्य रेशमबहादुर बानियाले म्याग्दीको विकासका लागि अवसरको सदुपयोग गर्नुपर्ने र भित्रिएका बजेट तथा योजनाको कार्यान्वयन गराउनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका ग्रामिण सडक स्तरोन्नति, खानेपानी, सिचाई सुविधा विस्तार, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार र विद्युत सुविधा विस्तारमा जोड दिएको बताउनुभयो । विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ ।

विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको छ । छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिकस्वरुप फेरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पुनले बताउनुभयो । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनःनिर्माणसँगै हटेको छ ।
गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयवासीले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए । “प्रवासमै रहनुभएका स्थानीयवासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, सङ्घ संस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्ततः अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो”, अध्यक्ष पुनले भन्नुभयो ।
विद्यालय भवन पुनःनिर्माण गर्न स्थानीयवासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको वडा अध्यक्ष पदम पुनले बताउनुभयो । समुदायको अग्रसरतामा सङ्घ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुनःनिर्माणमा राहत भएको उहाँको भनाइ छ ।
भवन बनाउने अभियानमा नगद रु पाँच सयदेखि रु १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको छ ।
अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा सङ्कलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनःनिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् ।

विद्यालय भवन पुनःनिर्माणमा करिब रु तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, सङ्घ संस्था र सरकारी तवरबाट रु तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, पुननिर्माण समितिका अभियान्ता लोक राना, वडा अध्यक्ष पदम बहादुर पुन, बेनी नगरपालिकाका कार्यपालिका सदस्य मनकुमारी विक, हिमालयन प्रोजेक्टका पावल मान्द्रे भुर्टेल, मोनाका कोषाध्यक्ष नरेन्द्र फगामी, पूर्व सल्लाहकार मिम पुर्जा, पत्रकार हरिकृष्ण गौतम लगायतले मन्तव्य राख्नुभएको थियो भने । कार्यक्रममा सहयोगदाता र पुननिर्माणमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण पुनको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसीको स्वागत र प्रअ भोजबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विविध नृत्य र पुख्यौली प्रस्तुती समेत राखिएको थियो ।