गाउँनै पहिरोको जोखिममाः विस्थापितलाई जिल्लाबाट राहत उपलब्ध
- २० श्रावण २०७४, शुक्रबार
- 2179 पटक पढिएको
म्याग्दी २० साउन । बेनी नगरपालीका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पुरै पात्लेखेत गाउँ जोखिममा परेको हो ।
रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै पुगेपछि जोखिम बढेको वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार, बुधबार र बिहीबारको बर्षा पछि बान्द्रेखाल्टीको पहिरोले खम्बी गर्बुजाको घर बगाएको छ ।पाखाथरका लालबहादुर हमाल, ओखलेका खिमबहादुर सार्की र पात्लेखेतकी बिमला नेपालीको घर पहिरोले जिर्ण बनाएपछि विस्थापित भएका अध्यक्ष रोकाले जानकारी दिनुभयो । “पहिरोको जोखिमका कारण पात्लेखेतको तल्लो क्षेत्रका ६० घरपरिवारको जनजिवन अस्तव्यस्त भएको छ ।”
पहिरोले घर बगाएपछि आफन्तकोमा आश्रय लिएर बस्नुभएकी खम्बी गर्बुजाले बसोबासको व्यवस्था मिलाईदिन अनुरोध गर्नुभयो । भने “भएको घर पहिरोले बगायो, अब कहाँ बस्ने” गर्बुजाले रुदै भन्नुभयो ।
वडा कार्यालयका अनुसार नरबहादुर पाईजा, हर्कबहादुर शाही, हर्कबहादुर नेपाली, अर्जुन पराजुली, धनबहादुर मल्ल, खेमराज सुवेदी, गणेश पराजुली, गनप्रसाद शेरचन, ईन्द्रबहादुर मल्ल, सञ्जीव मल्ल, गोविन जिसी, जागेश्वर जैसी, वुद्ध गिरी, मनबहादुर रावल, ईन्द्रबहादुर रावल, चन्द्रबहादुर मल्ल, कृष्णप्रसाद पराजुली लगायतको घर पहिरोको जोखिममा परेको छ ।
भिरालो भुवनोट र भुमीगत पानीका कारण विगत केही वर्षयता पहिरो नियन्त्रणका लागि तारजाली लगाउने गरिएपनी सफल हुन नसकेको स्थानीय बासीन्दा केदार सुवेदीले बताउनुभयो । यसैबीच जिसस प्रमुख देवेन्द्र केसी , प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जनप्रतिनिधि, राजनितिक दल, सुरक्षा अधिकारी र प्राबिधिकको लगायतको टोलीले बिहिबार पात्लेखेत पहिरोको स्थलगत निरिक्षण गरेर विस्थापितलाई राहत वितरण गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले घर पूर्ण क्षत्ती भएकी खम्बी गर्बुजालाई १५ हजार, विस्थापित भएका लालबहादुर हमाल, खिमबहादुर सार्की र बिमला नेपालीलाई दश दश हजार र बेनी नगरपालीकाले पाँचपाँच हजार रुपैया राहत उपलब्ध गराएको छ । घर क्षत्ती भएकी खम्बीलाई जिल्ला समन्वय समितिले पाँच हजार, नेपाली काँग्रेसका जिल्ला सभापती खम्बिर गर्बुजाले सात हजार, ओमकुमारी शान्ति कोषले पाँच हजार र दुई थान त्रिपाल सहयोग गरेका छन् । जिल्ला समन्वय समितिले पहिरोबाट थप क्षत्ती हुन नदिने गरि तत्काललाई रोकथामका तारजाली उपलब्ध गराउने जनाएको छ ।