बेनीमा घोडानाच प्रदर्शन

  • १८ श्रावण २०७४, बुधबार
  • 2509 पटक पढिएको

म्याग्दी, १८ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान अन्र्तगत बुधवार घोडानाच पदर्शन गरिएको छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु देखाउने तयारी अन्र्तगत बुधवार बेनीमा घोडाचान देखाईएको नेपाल भाषा मंकाः खलः अन्र्तगत रहेको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने गरिन्छ ।

नेपाल भाषा मंकाः खल र नेवार युवाहरुको समुह ल्यामपुचको आयोजनामा सुरु गरिएको बर्खेनाच अन्र्तगत बुधवार बेनी बजारभित्र घोडानाच पर्दशन गराईएको थियो । यस बर्ष बर्खेनाचमा घोडानाच संगै लाखेनाच, नागानागीनी नाच, श्रीकृष्ण र सथयात्रा सहित विविध नाच देखाउने तयारी गरिएको छ ।


बेनी बजारमा बस्ती बसेदेखी नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाईन्छ । ऐतिहाँसिक महत्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् ।केही समय अगाडी बर्खेनाचको लागी युवा कलाकारहरुलाई तालीम समेत दिईएको थियो ।


यसै घण्टाकर्ण पर्वको दिनदेखि सुरु हुने बर्खे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।

बर्खेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिने प्रचलन रहेको छ । तस्बिर सौजन्य सुविन श्रेष्ठ ।