बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता सुरु (फोटो फिचर)

  • १७ श्रावण २०७४, मंगलवार
  • कमल खत्री
  • 4273 पटक पढिएको

म्याग्दी, १७ साउन । म्याग्दी सदरमुकाम बेनीमा तेस्रो एभरग्रीन कप खुल्ला सेभेन ए साईड फुटवल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा बेनी स्थित खुलामञ्चमा सुरु भएको प्रतियोगिता आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा म्याग्दी, बागलुङ, पोखरा र काठमाण्डौका गरि ४२ समुहले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा बिजेतालाई नगद रु ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेतालाई नगद रु ४५ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने क्लबका अध्यक्ष ललित पुर्जाले जानकारी दिनुभयो । त्यस्तै अनुशासित टिमलाई नगद रु १० हजार, वेष्ट टिम परिचालनलाई नगद रु ५ हजार, र वेष्ट ड्रेस टिमलाई नगद रु ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धरा पुरस्कृत गरिनेछ ।

त्यसैगरि उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, ,खेलाडी, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही नगद रु ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले खेलक्षेत्रले सामुहिक भावनालाई बोक्ने भन्दै युवाहरुको सामुहिकताले समाज रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले अहिले सदरमुकाम बेनीमा रहेको खुलामञ्च फुलबलको लागि आबश्यक मापदण्ड अनुसार नरहेको कारण यसको क्षमता विस्तारमा नगरपालिकाले आबश्यक पहल थालेको बताउनुभयो । कार्यक्रममा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, बेनी नगरपालिका–८ का वडाअध्यक्ष रामकृष्ण बराईली र वडा ७ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले खेल क्षेत्रको विकासले जिल्ला र राष्ट्रको पहिचान गराउन सहयोग पुग्ने बताउँदै युवाहरुलाई सामुहिक प्रयास मार्फत समाज रुपान्तरणमा लाग्न आग्रह गर्नुभयो ।

क्लब अध्यक्ष पुर्जाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो भने क्लब उपाध्यक्ष हरिबहादुर केसीको स्वागत र सचिब धनबहादुर घर्ति मगरको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । सामाजीक रुपान्तरण हाम्रो अभियान भन्ने नाराका साथ स्थापना भएको क्लबले तीन बर्षदेखि लगातार बेनीमा हरेक बर्ष सेभेन ए साईड फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l