एनआरएनए कतारको आइसिसी सदस्यमा कार्की र लेखा संयोजकमा गिरीको उम्मेदवारी

  • ९ श्रावण २०८०, मंगलवार
  • 471 पटक पढिएको

म्याग्दी ९ साउन । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा म्याग्दीका विक्रम कार्की र लेखा समिति संयोजकमा थम गिरीले उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २०२३–२५ कार्यकालका लागि हुन लागेको निर्वाचनमा लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय कार्कीले सदस्य र गिरीले लेखा समिति संयोजकमा उम्मेदवारी दिनुभएको हो ।
कार्यसमिति छनोट समितिले गए राति जारी गरेको सूचना अनुसार आइसिसी सदस्यका ६ पदमा ९ जनाले मनोनयन दर्ता गरेका छन् । सदस्य पदका प्रतिस्पर्धीहरुमध्ये कार्की बलियो उम्मेदवारको रुपमा देखिनुभएको छ । डेढ दशक देखि कतारलाई कर्मथलो बनाउनुभएका कार्की सँग म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समितिको महासचिव मोना कतारको अध्यक्ष सहित विभिन्न पदमा रहेर सामाजिक काम गरेको अनुभव छ । मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष समेत रहेका कार्की शालीन व्यक्तिका रूपमा परिचित हुनुभएको छ । मोना कतार, प्रवासी नेपाली एकता मञ्च कतार लगायतका विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरेको अनुभव संगाल्नुभएका गिरी पारदर्शीता र जवाफदेहिताको वकालत गर्दै आउनुभएको छ ।

एनआरएनए कतारको निर्वाचनमा चुनाबै मैदानमा उत्रनुभएका कार्की र गिरीले वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरको हक हितको लागि डटेर लड्न र एनआरएनए अभियानलाई व्यापक र शसक्त बनाउनका लागि आफुहरुले उम्मेदवारी दिएको बताउनुभएको छ ।
आगामी २७ जुलाई बिहान १० बजेबाट २८ जुलाई राति १२ बजे (नेपाली समय)सम्म मतदान गर्ने तालिका समितिले सार्वजनिक गरेको छ । ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दसौँ महाधिवेशन २९ जुलाई दिउँसो २ बजेबाट होलिडे इन होटेल (द बिजनेस पार्क)मा हुने कार्य तालिका रहेको छ ।