कालिसारमा लालीगुराँस पार्क

  • १ जेष्ठ २०८०, सोमबार
  • धिरन खत्री
  • 413 पटक पढिएको

 

म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ कालिसारस्थित घना जंगलको विचमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भईरहेको छ। घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पार्क निर्माण कार्य अघि बढाईएको हो । डिभिजन वन कार्यालयबाट विनियोजित बजेटमार्फत पर्यटक रमाउने पूर्वाधार निर्माण गरिरहेको घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुन ( शुशिल) ले बताउनुभयो ।


अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाई लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुरासँ जंगलको प्रकृतिसंग रमाउने वातावरण सिर्जना गर्नका लागि लालीगुराँसको जंगलमा साइकलिङ सडक, वड वाचिङ, हर्स राईडिङ लगायतका पुर्वाधार निर्माण गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । “चालू आर्थिक बर्षमा डिभिजन वन कार्यालयबाट विनियोजित रु २० लाख बजेटबाट लालीगुराँस पार्कको पूर्वाधार निर्माण भैरहेको छ” उहाँले भन्नुभयो, “पार्कमा कुर्चि, गोलघर, पोखरी, पदमार्ग, शौचालय, होडिङ वोर्ड लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको छ भने सार्वजनिक शौचालय निर्माण भैरहेको छ।” चालू आर्थिक वर्षको असार मसान्तसम्म पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य छ।


पर्यटकियस्थल घोडेपानीबाट करिव २० मिनेटको पदयात्रामार्फत पुगिने गुराँसको ठूलो जङ्गलको बीचमा रहेको समथर खाली भूभागलाई उपयोग गरेर पार्क स्थापना गर्ने योजना अघि बढाएको अध्यक्ष पुनले बताउनुभयो । धेरै पर्यटक पुनहिलको भ्रमण गरेपछि तत्कालै फर्किने भएकाले घोडेपानीको बसाइलाई लम्बाउने योजनाका साथ घोडेपानी आसपासमा पर्यटन पूर्वाधार निर्माण हुन थालेका छन्।

बिहानीपख पुनहिलको भ्रमण गरेका पर्यटक दिउँसोमा गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर मनोरम दृश्यावलोकन गरेर पुन घोडेपानी फर्किन सक्छन्। लालीगुराँस जंगलको विचमा साईकिलिङ गर्ने सडक पनि निर्माण गरिएको छ। यस क्षेत्रमा राप्पु, सेप्पु र चिमाला लगायतका ८ प्रजातिका लालीगुराँस पाईन्छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटलका सेवासुविधा थप, सडकको पहुँच, पदमार्ग, लालीगुराँस जंगलको विस्तार एवम् आराम गर्ने विभिन्न पूर्वाधार निर्माणमा ध्यान दिएको घोरेपानी होटल ब्यवस्थापन समितिका अध्यक्ष मिना पुनले बताउनुभयो ।

यस क्षेत्रबाट सुर्योदय, धौलागिरि लगायतको एक दर्जन हिमाल लगायतका मनोरम दृष्य नजिकबाट नियाल्न सकिन्छ । अन्नपूर्ण पदयात्रामा असोज, कात्तिक र चैत–बैशाखमा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने गर्छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l