भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै

  • १८ बैशाख २०८०, सोमबार
  • धिरन खत्री
  • 373 पटक पढिएको

 

म्याग्दी, १८ बैशाख । पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकियस्थल –रुईसे– भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ। समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाईमा परेको हो ।


धौलागिरि आइसफल पदमार्गमा पर्ने भेडीओढारबाट धौलागिरि, चुरेन, गुर्जा, अन्नपूर्ण, निलगिरिदेखि माछापुच्छ्र«ेसम्मको हिमशृंखला देखिन्छन्। डाँडामा रहेको भेडीओढारमा हिउँदमा यहाँ गाउँघरका भेडा राखिन्छ। त्यसैले यसको नाउँ भेडीओढार राखिएको हो ।

यहाँबाट म्याग्दी, बागलुङ, पर्वतका दर्जनौ बस्ती, पुनहिल, करबाकेली, टोड्के लगायतको पर्यटकियस्थल देख्न सकिने भेढिओढारमा ठुलो ढुँगामा रेलिङ र छत राखेर भ्यू पोइन्ट बनाइएको छ। भ्यू पोइन्टको डिलबाट हिमालको मनोरम दृश्य, शान्त वातावरण, दर्जनौ बस्ती अवलोकन गर्दा रमाईलो महसुस भएको भेडिओढार पुगेका आन्तरिक पर्यटक सन्तोष गौतमले बताए ।

नेपाल भ्रमण वर्ष २०२० मा सय गन्तव्यको सूचीमा ‘रूइसे–भेडीओढार–धौलागिरि आइसफल पदमार्ग’ परेको थियो। भेडीओढारको बेस क्याम्पलाई रुइसे भनिन्छ। रुइसे पिकनिक स्पटका रुपमा विकसित भैसकेको छ। रुइसेसम्म सडक सञ्जाल जोडिएको छ।

विहानको समयमा पदयात्रा गरेर भेडिओढार घुम्ने पर्यटकले लालीगुराँसको जंगल, चराचुरुङ्गी,बन्यजन्तु, भेडाबाख्रा र भेडीगोठका कुकुरको आवाजले यात्रालाई सहज बनाउछ । रुईसे– भेडीओढार घुम्न पुगेका अर्का आन्तरिक पर्यटक कृष्णराज पौडेलले यहाँबाट देखिने दृष्यले मनमा आनन्द र मनोरञ्जन दुबै मिलेको बताउदै स्वर्गजस्तो पर्यटकियस्थलमा घुम्न आउन सबैलाई आग्रह गर्नुभयो ।

२ हजार २ सय मिटर उचाईमा रहेको रुईसेमा संचालित भ्यूटावर निर्माण गरिएको छ। यस क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरेर रईसेमा खाना, खाजा र आरामदायी रुपमा बस्ने तीनवटा होट सुविधा पनि थपिएका छन् ।

यातायात सुविधामा पुगिने रुईसेमा एक रात यहाँ बसेर बिहान एक घण्टा उकालो चढेर भेडीओढार पुग्नु बेस हुन्छ। रघुगंगा गाउँपालिकाले रूइसे क्षेत्रको पर्यटन विकासका लागि सडक, भ्युटावर, पदमार्ग, धार्मिक मठमन्दिर पुर्ननिर्माण, विद्युत, खानेपानी, तालिम हल र पर्यटन लक्षित ब्यक्तिका खाजा घर लगायतका पूर्वाधार निर्माणले पर्यटकलाई घुम्न सहज बनेपनि राजाको पुराना संरचना जोगाउन सकिएको छैन् ।

सदरमुकाम बेनीबाट गलेश्वर राखु पिप्ले, भगवती हुदै रुईसे– भेडीओढार यात्रामा निस्कँदा बीच बाटोमै पर्ने राखु भगवती मन्दिर दर्शन गर्न सकिन्छ। इतिहासअनुसार विक्रम संवत १८३६ मा महारानी शुवर्ण प्रभादेवीले मुक्तिनाथ दर्शन गर्न यात्रामा निक्ने तिर्थालुको खाना र बासका लागि राखु भगवतीमा गुठिको व्यवस्था गरेकी थिइन्। हालै पुरातत्व विभागको सहयोगमा भगवती कोत मन्दिर पुननिर्माण भएको छ। यस क्षेत्रमा आउने आन्तरिक पाहुनालाई रूइसे नजिकैका गाउँहरू सिजल, साझापानी र बेग सिरुबारीमा होमस्टे संचालन गनुपर्ने देखिन्छ ।

    

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l