रत्नेचौर कुडुले झोलुङ्गे पुल निर्माण हुने
- १० श्रावण २०७४, मंगलवार
- सन्तोष गौतम
- 2592 पटक पढिएको
बेनी १० साउन । बेनी नगरपालीका १ रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ ।संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजनले म्याग्दी र बागलुङको सिमानामा पर्ने ढोडेनी खोलामाथी झोलुङ्गे पुल निर्माण गर्न लागेको हो ।
रत्नेचौरको बुढोचौर खेलमैदानदेखि कुडुलेको डिल जोड्ने पुलको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न मंगलबार परामर्शदाता कम्पनीका प्राबिधिकहरुले स्थलगत सर्वेक्षण सम्पन्न गरेका वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।
३७० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि एक करोड ५० लाख रुपैया लागत अनुमान गरिएको छ । सर्वेक्षणको आधारमा ठेक्का प्रक्रिया मार्फत चालु आर्थिक वर्षभित्रनै पुल निर्माण सुरु गर्ने डिभिजनको लक्ष्य छ ।
रत्नेचौर कुडुले झोलुङ्गे पुल निर्माण भएपछि करिब डेढ घण्टाको पैदलयात्रा पाँच मिनेटमा छोटीनेछ । धौलागिरी क्षेत्रमै लामो र अग्लो हुने दावी गरिएको पुललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको वडा अध्यक्ष रावलले बताउनुभयो । उहाँका अनुसार बुढोचौर खेलमैदानको पूर्वी भागमा रत्न पार्क निर्माण गर्न पहल भएको छ ।