म्याग्दीमा पर्यटन आगमनमा भारी बृद्धि, एक बर्षमा सत्तरी हजार पर्यटकद्वारा भ्रमण

  • १० श्रावण २०७४, मंगलवार
  • 2407 पटक पढिएको

म्याग्दी, १० साउन । पर्यटकीय जिल्लाको रुपमा परिचित हुन थालेको पहाडी जिल्ला म्याग्दीमा पर्यटन भागमन भारी मात्रामा बृद्धि भएको छ । जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन थालेपछि बाह्य मुलुकबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण हुन थालेको हो । आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् । आव २०७२/७३ को तुलनामा २०७३/७४ मा २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याँकअनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म ६९ हजार ८३७ जनाले जिल्लाको भ्रमण गरेका थिए । आव २०७२/७३ मा ४३ हजार ६३२ पर्यटकले भ्रमण गरेका थिए । जिल्लामा भित्रने पर्यटकहरुको तथ्याँक घोडेपानी पर्यटक चौकी, बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले राख्दै आएका छन् ।

मुस्ताङको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रूपसे झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत ठाउँको भ्रमणका लागि यहाँ पर्यटक आउने गरेका छन् ।

घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनबहादुर पुनले भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको बताउनुभयो । म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा अमेरिका, बेलायत, जर्मन, अष्टे«लिया, भारत, दक्षिण कोरिया, चीन, मलेसिया, थाइल्याण्डलगायत देशका नागरिक यहाँ भ्रमणमा आउने गरेका छन् ।