सङ्घीयताले रोक्न सकेन बसाइँसराई

  • ३० चैत्र २०७९, बिहीबार
  • धिरन खत्री
  • 399 पटक पढिएको

 

म्याग्दी, ३० चैत । मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजनाहरु गाउँ गाउँमा भित्रदा समेत बसाइँसराई बढ्दो क्रममा देखिएको छ । स्थानीय तहहरु कार्यान्वयनमा आएसंगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् । सडक, पदमार्ग, सिचाई, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका पूर्वाधारहरु निर्माण हुने क्रम बढ्दो छ । एक नगरपालिका सहित पाँच गाउँपालिका रहेको म्याग्दीमा पाँच गाउँपालिकाहरुको केन्द्र नयाँ बजार विस्तारको चरणमा पुगीसकेका छन् । जिल्लामा भौतिक पूर्वाधारको विकास हुने क्रम बढीरहेको सन्दर्भमा जिल्लाबाट अन्यत्र बसाइँसराई गर्नेक्रम बढ्दो छ ।

जिल्लाभित्रका पाँच गाउँपालिकाबाट सदरमुकाम समेत रहेको बेनी बजारमा थोरै मात्रामा बसाइँसराई गर्ने गरेका छन भने समग्र जिल्लाबाट पोखरा, काठमाण्डौ, बुटवल, चितवन लगायतका क्षेत्रमा बसाइँसराई गर्ने गरेको पाइएको छ । जिल्ला सदरमुकाम बेनी बजार समेत अवस्थित रहेको बेनी नगरपालिकामा आन्तरिक रुपमा जिल्लाका अन्य स्थानीय तहबाट बसाइँसराई गरि आउने भन्दा यहाँबाट जिल्ला बाहिर बसाइँसराई गर्नेहरुको संख्या बढी देखिएको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा बेनी नगरपालिकामा ३११ सदस्य बसाइँसराई गरी आएका थिए भने यस नगरपालिकाबाट ४४२ सदस्य यहाँबाट बसाइँसराई गरी अन्यत्र गएको पाईएको छ । नगरपालिकाको पञ्जिकरण शाखाका अनुसार, चालु आर्थिक बर्षको चैत तेस्रो सातासम्म बेनी नगरपालिकामा १३२ सदस्य बसाइँसराई गरी आएका छन भने यहाँबाट २४२ सदस्य बाहिरीएका छन् ।

जिल्ला सदरमुकाम बेनी रहेको बेनी नगरपालिकामा जस्तै जिल्लाका पाँच वटै गाउँपालिकामा बसाइँसराईको दर उच्च छ । बैदेशिक रोजगारको कारण युवायुवतिहरु विदेश पलायन हुने क्रमसंगै गाउँका स्थानीयहरु सुविधा खोज्दै बजारतर्फ बसाइँसराई गर्ने प्रचलन छ । रघुगंगा गाउँपालिका–८ चौरखानीका स्थानीय शिक्षक चन्द्रमान छन्त्यालले बसाइँसराईले गाउँ रित्तिदै गएको बताउनुभयो ।

‘‘पहिले यस ठाउँ दुर्गम थियो, गाउँ भरिभराउ थियो, अहिले विकासका पूर्वाधार र सुविधाहरु गाउँघरमा थपिँदै गएका छन, तर गाउँ रित्तिदै गएको छ’’– उहाँले भन्नुभयो । गाउँमा स्वास्थ्य र शिक्षाको गुणस्तर नहुँदा बजारतर्फ बसाइँसराई गर्ने दर बढीरहेको छ । रघुगंगामा चालु आर्थिक बर्षको हालसम्म ८ परिवारका १२ सदस्य बसाइँसराई गरि आएका छन भने ३५ परिवारका ११४ सदस्य यस पालिकाबाट अन्यत्र बसाइँसराई गरेर गएका छन् । यस पालिकामा गत आर्थिक बर्षमा ३८ सदस्य बसाइँसराई गरि आउँदा १८३ सदस्य पालिकाबाट अन्यत्र बसाइँसराई गरी गएको गाउँपालिकाका पञ्जिकरण शाखाका बसुता पुनले जानकारी दिनुभयो । पालिकामा बसाइँसराई गरि आएको संख्या आन्तरिक बसाइँसराई रहेको जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकामा चालु आर्थिक बर्षको हालसम्म २४ सदस्यले आन्तरिक बसाइँसराई गर्दा १४७ सदस्यले पालिकाबाट अन्यत्र बसाइँसराई गरेको देखिएको छ । मंगला गाउँपालिकामा यस आर्थिक बर्षको हालसम्म १३ परिवारका ४३ सदस्यले बसाइँसराई गरेर आउँदा ४५ परिवारका १६० सदस्य अन्यत्र बसाइँसराई गरको देखिएको छ । पञ्जिकरण शाखाका लेकनाथ सापकोटाका अनुसार, गत बर्ष मंगलाबाट १९ परिवारका ८३ सदस्य पालिकाभित्र बसाइँसराई गरेर आउँदा ८२ परिवारका ३०५ जना अन्यत्र बसाइँसराई गरेर गएका छन् ।

त्यसैगरि मालिका गाउँपालिकामा यस बर्षको हालसम्म १२ परिवारका ३१ सदस्य बसाइँसराई गरेर आउँदा ३२ परिवारका १२४ सदस्य अन्यत्र बसाइँसराई गरेका छन् । जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तहको रुपमा परिचित धवलागिरि गाउँपालिकामा आन्तरिक रुपमा न्यून संख्यामा बसाइँसराई हुने भएपनि यहाँबाट बाहिर जानेको संख्या ठूलो छ । यस पालिकामा चालु आर्थिक बर्षको हालसम्म ६ परिवारले पालिकाभित्र नै आन्तरिक रुपमा बसाइँसराई गर्दा यहाँबाट अन्यत्र ६७ घरपरिवारले बसाइँसराई गरिसकेका छन् ।

सडक सञ्जालको सहज पहुँच नपुग्नु, गुणस्तरीय स्वास्थ्य र शिक्षाको अभाब, रोजगारको व्यवस्था नहुनु, सिचाई अभाबले परम्परागत खेतिमा उत्पादकत्व घट्नु, खानेपानी, लगायतका आधारभूत आबश्यकताको परिपूर्ति नहुँदा ग्रामीण भेगबाट सर्वसाधारणहरु गाउँ छाडेर शहरतर्फ बसाइँसराई गर्ने प्रचलन बढेको छ ।

धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले सङ्घीयताले सेवा र सुविधा विकेन्द्रीकरण गरेपनि स्थानीय स्तरमै रोजगारको अवसर र आधारभुत आबश्यकताको परिपूर्ति गर्ने आधार तयार नहुँदा बसाइँसराईको दर बढेको बताउनुहुन्छ । ‘‘स्थानीय स्तरमा रहेका सम्भावनाको खोजी र सोहि अनुरुपका रोजगार सिर्जना गर्ने योजनाहरु अघि बढाउनुपर्ने देखिएको छ, स्थानीय स्तरमै रोजगार पाउने अवस्था नबने मानिसहरु गाउँ छाडेर गैरहन्छन भन्ने लाग्छ, त्यसका लागि सडक लगायतको सहज सुविधा बनाउनतर्फ पनि ध्यान दिनुपर्ने छ’’–रिजालले भन्नुभयो ।

सुविधा र सुखको खोजीमा गाउँबाट शहर पस्नेक्रमले सामाजिक, आर्थिक र पारिवारीक बेमेल सिर्जना गरेको छ । मुख्यगरि मानिसहरु आर्थिक रुपमा सक्षम बन्दै गएपछि गाउँ छाडेर शहर बसाइँसराई गर्ने अधिक रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । अहिले बसाइँसराई मात्रै नभएर अस्थायी रुपमा गाउँ छाडेर शहरमा बसोबास गर्नेहरुको संख्या पनि अधिक रहेको छ । जस्तको कारण गाउँ युवा र बालबालिका विहिन हुने अवस्थामा पुग्न थालेका छन भने घरहरु खाली र खेतवारी बाँझो रहने समस्या बढ्दो छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l