पाखापानीकी पारमायाँले अस्पतालबाटै गरिन जिवनरक्षाको अपिल
- ९ श्रावण २०७४, सोमबार
- 7349 पटक पढिएको
म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमायाँ पाईजाले आफ्नो जिवनरक्षाको लागि अस्पतालकै शैयाबाट सहयोगको याचना गरेकी छिन् । आन्द्राको क्यान्सरबाट पिडित भई भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचाररत पाईजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाई आईपरेपछि यस्तो याचना गरेकी हुन् ।
बिगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत पाईजाको आन्द्रामा घाउ भएर क्यान्सर भएको पुष्टि भएपनि आर्थिक अभाबले उपचार प्रभावित भईरहेको उनका पति श्रीमान पाईजाले बताए । अस्पतालमा भर्ना गरेका छौँ, अहिले दैनिक १० हजारदेखि १५ हजारसम्म न्युनतम खर्च हुँदै आएको छ, उपचार महंगो भएकाले खर्च जुटाउन सकेको छैन,’’–पाईजाले भने । पारमायाँलाई क्यान्सरको अप्रेशनको लागि किमो चढाएर उपचार गर्न थालिएको छ ।
खाना खाएपछि बान्ता हुने समस्या बढेपछि विभिन्न अस्पताल हुदै पारमायाँलाई गत असारमा मात्रै भक्तपुर क्यान्सर अस्पतालमा पु¥याईएको थियो । दुई बर्षदेखि सो समस्याबाट पिडित भएपनि पोखराका विभिन्न अस्पतालहरुमा उपचार गर्दा अहिलेसम्म झण्डै साढे ५ लाख सकिइसकेको घरपरीवारको भनाई छ । कृषि पेसाबाट जिविकोपार्जन गर्दै आएका पाईजा परिवारले अहिलेसम्म कतिपय खर्च ऋण र सापट समेत गरेर जुटाएका छन् । आन्द्रामा भएको क्यान्सरको अप्रेशन मार्फत उपचार गर्नुपर्ने भएकाले थप लाखौँ खर्च लाग्ने भएपछि उनीहरुले सबैक्षेत्रबाट सहयोगको याचना गरेका छन् ।
सहयोगका लागि सम्पर्कः श्रीमान पाईजा ९८०६१८१०५२