किसानलाई अनुदानमा सहज वातावरण बनाउन राप्रपाको माग

  • ६ चैत्र २०७९, सोमबार
  • 291 पटक पढिएको

 

म्याग्दी, ६चैत्र । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान वितरणमा ढिलाई, महंगी र झन्झटयुक्त अवस्था बनाएको भन्दै तत्काल सहज वातवारण बनाउन माग गदैं ज्ञापनपत्र पठाइएको राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले बताए ।

रासायनिक मलमा यसअघि ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको थियो । मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भन्दै तत्काल सहज आपूर्ती गर्न समेत राप्रपाले माग गरेको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपाका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् पूर्वमन्त्री भिमप्रसाद गौचन लगायतको उपस्थिती रहेको थियो । राप्रपाले किसानलाई उपलब्ध गराउने कुनैपनि अनुदान घटाउने नभई दोब्बर बनाउन र सहज वितरण गर्न, पहुँचभन्दा बास्तविक किसानको हातमा पुग्ने गरी उपलब्ध गराउन समेत माग गरेको हो ।