गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

  • १० माघ २०७९, मंगलवार
  • 303 पटक पढिएको

म्याग्दी, १० माघ । गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो ।


मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जालीलाई पनि मुख्यमन्त्री अधिकारीले मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । उनीहरु सबैलाई मंगलबार नै मन्त्रालयको जिम्मेवारी तोक्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।यसैगरी शपथ पनि आजै गराउने गरी प्रदेश प्रमुख कार्यालयले तयारी गरेको छ ।