बेनी नगरपालिकाको बजेट करिब ३८ करोड
- ३० असार २०७४, शुक्रबार
- 2531 पटक पढिएको
म्याग्दी ३० असार । बेनी नगरपालीकाले आगामी आर्थिक वर्ष २०७४७५ का लागि करिब ३८ करोड रुपैया बजेट बिनियोजन गरेको छ ।
बेनीमा शुक्रबार आयोजित प्रथम नगर सभामा उपप्रमुख सञ्जु बरुवालले ३७ करोड ७८ लाख ८६ हजार रुपैया बजेट बिनियोजन भएको जानकारी गराउनु भएको हो । चालुतर्फ २२ करोड ३० लाख ८६ हजार र पुजीगततर्फ १५ करोड ४८ लाख रुपैया रहेको छ । कुल बजेट मध्य एक करोड पाँच लाख ४७ हजार रुपैया आन्तरीक आम्दानी रहेको छ । नगरपालीकाको समग्र पूर्वाधार विकास, नगरबासीको आयस्तर वृद्धी र सुशासनलाई प्राथमिकता दिइएको उपप्रमुख बरुवालले बताउनुभयो ।
नगर प्रमुख हरिकुमार श्रेष्ठले निती तथा कार्यक्रम प्रस्तुत गर्दै बेनी देखि सबै वडासम्म पक्कि सडक, आधारभुत खानेपानी सुबिधा, डम्पीङ साईट निर्माण, विपद् व्यवस्थापन, कृषि, पर्यटन, ब्यापार प्रर्वद्धन, कला, संस्कृती र ऐतिहाँसीक स्थलहरुको संरक्षणमा जोड दिइएको बताउनुभयो ।एकिकृत सम्पत्ती कर लागु गर्ने नितीगत निर्णय गरेको नगरपालीकाले ब्यवसाय, घरभाडा र सवारी करको लागि लगत संकलन गर्ने भएको छ । एक वडा एक उत्पादन, रावण पार्क निर्माण, एक घर एक बिरुवा जस्ता कार्यक्रम सार्वजनीक गरेको छ ।
बेनी–पात्लेखेत सडक कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिएको नगरपालीकाले खेलमैदान, सिचाई कुलो निर्माण, मर्मत, तरकारी र सुन्तला खेती प्रर्वद्धनका लागि सहयोग पुग्ने कार्यक्रम तय गरेको छ ।नगरपालीका मार्फत सञ्चालन हुने पूर्वाधार योजनामा १५ प्रतिशत नगद र १५ प्रतिशत श्रमदान सहभागीता अनीवार्य हुनुपर्ने व्यवस्था गरेको छ । बैङकीङ पहुँच विस्तारका लागि वित्तिय साक्षरता र सहकारी प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जनप्रतिनिधिको नेतृत्व तथा क्षमत्ता विकासका लागि तालीम, प्रशिक्षण र भ्रमणको कार्यक्रम बनाएको छ । कटानको जोखिममा रहेका बस्तीको संरक्षण र क्याम्पसचोकको बाढी नियन्त्रण योजनालाई प्राथमिकता दिइएको छ ।नगरपालीकाका कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, भुसंरक्षण अधिकृत दिवाकर पौडेल र शिक्षा अधिकारी रामकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि विषयगत कार्यालयले स्थानीय तह अन्तरगतनै कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभएको थियो ।
नगर सभामा बेनी नगरपालीकाका दश वटै वडाका अध्यक्ष, नगर कार्यपालीकाका सदस्य र वडा सदस्यहरुबीच बिनियोजित बजेट, निती तथा कार्यक्रमको विषयमा छलफल भएको थियो ।