जिल्ला शिक्षा कार्यालय म्याग्दीद्धारा बर्षभरीका गतिविधि सार्वजनिक, खर्च प्रगति सन्तोषजनक
- ३० असार २०७४, शुक्रबार
- कमल खत्री
- 2143 पटक पढिएको
म्याग्दी, ३० बैशाख । आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालय म्याग्दीको विक्तिय प्रगति सन्तोषजनक देखिएको छ । कार्यालयले शुक्रवार पत्रकार भेटघाट गरि बर्षभरी कार्यालयले सम्पदान गरेका कार्यक्रमहरुको बिबरण सार्वजनिक गरेको हो । कार्यालयलाई बिनियोजन भएको कुल बजेट ६९ करोड ८४ लाख ८ हजार ५८ रुपैयाँ मध्ये ६५ करोड २८ लाख १७ हजार २०७ खर्च भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कुल बजेटमध्ये ९३ दशमलब ४७ प्रतिशत वित्तिय प्रगती गर्न सफल भएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक बर्षको अन्ततिर प्राप्त राष्ट्रिय पुननिर्माण प्राधिकरणको भौतिक पूर्वाधार विस्तार कार्यक्रमको लागि प्राप्त करिब रु १ करोड रकम कार्य सम्पादन गर्ने समय अपुग भएकाले फिर्ता भएको छ । त्यसैगरि नमुना विद्यालय स्थापनाको लागि विनियोजन भएको रु ८० लाख बजेट समेत कार्यक्रमको मापदण्ड बमोजिमको विद्यालयको जग्गा र विद्यार्थी संख्या नपुगेको कारण कुनै पनि विद्यालय सो कार्यक्रमको लागि छनौटमा नपरेपछि फिर्ता भएको छ । यो बर्ष जिल्ला शिक्षा कार्यालयको स्वतन्त्र निकायले गरेको मुल्याङ्कनको आधारमा समेत उत्कृष्ट हुन सफल भएको भन्दै जिशिअ श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । कुल २३७ पूर्णाङ्कमा कार्यालयले १९५ अर्थात ८२ दशमलब २७ प्रतिशत नम्बर हाँसिक गरेको थियो भने त्यसमा सेवाग्राहीको सन्तुष्टिमा १५ पूर्णाङ्कमा १४ नम्बर प्राप्त गरेको थियो ।
कार्यक्रममा कार्यालयका विद्यालय निरिक्षक दलबहादुर थापाले कार्यालयले बर्षभरीमा विभिन्न कार्यक्रम अन्र्तगत जिल्लाका विद्यालय, शैक्षिक संस्था तथा विद्यार्थीहरुलाई उपलब्ध गराएको अनुदान, तलब रकम, निशुल्क पाठ्यपुस्तकको लागि अनुदान, छात्राबृत्ति लगायतको खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले जिल्लामा न्युन सिकाइ उपलब्धि भएका ६ सामुदायिक विद्यालयको सिकाइ उपलब्धि बृद्धिको लागि प्रति विद्यालय रु १ लाख र उत्कृष्ट सिकाइ उपलब्धि भएको एक विद्यालयलाई रु २ लाख अनुदान उपलब्ध गराइएको बताउनुभयो ।
कार्यालयले हालै क्षेत्रीय शिक्षा निर्देशनालय पोखराबाट सिफारिस भई आएका आधारभुत तहका २१ जना स्थायी शिक्षकहरुलाई नियुक्त दिई विद्यालयहरुमा पदस्थापन गरेको कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले बताउनुभयो । उहाँले स्थायीमा नाम निकालेर आएका शिक्षकहरुलाई पदस्थापन गर्दा विस्थापित हुने अस्थायी शिक्षकहरुलाई खाली भएको ठाउँमा व्यवस्थापन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय निरिक्षक रामकरण पालले अनौपचारीक शाखाबाट सम्पन्न कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । जिल्लामा साविकका विभिन्न १८ गाविस पूर्ण साक्षर घोषणा भईसकेपनि विविध कारणले जिल्लालाई पूर्णसाक्षर बनाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले निरक्षरहरुलाई साक्षर बनाउन निरन्तर शिक्षा कार्यक्रम अन्र्तगत सामुदायिक सिकाई केन्द्र मार्फत अभियान चलाईएको र जिल्लालाई आगामी मंसिर अगाबै पूर्ण साक्षर घोषणा गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l