चमेरेमा पहिरो पन्छाएपछि बेनी जोमसोम सडक खुल्यो
- २९ असार २०७४, बिहीबार
- सन्तोष गौतम
- 2834 पटक पढिएको
बेनी २९ असार । रघुगंगा गाउँपालीका ३ मा पर्ने चमेरेमा पहिरोले भत्काएको सडक मर्मत गरेपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेको हो । पहिरोले सडक भत्काएपछि बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो ।
दुई वटा डोजर परिचालन गरेर सडक खुलाईएको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको अवरोध हटाउन दुई वटा डोजर तयारी अवस्थामा राखिएको छ ।
कच्चि अवस्थामा रहेको बेनी जोमसोम सडक ठाँउ ठाउँमा पटक पटक अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङका बासीन्दाका साथै तिर्थयात्री र पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।