बेनी–जोमसोम सडक अवरुद्ध

  • २१ असार २०७४, बुधबार
  • 6776 पटक पढिएको

म्याग्दी २१ असार । पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानाको काभ्रेभिर, लाटोखोला, जलथले र भुरुङ तातोपानीमा खसेको पहिरोका कारण बुधबार बिहानदेखि सडकको पोखरेबगरदेखि घासाँ खण्ड अवरुद्ध बनेको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका स्थानीय निरिक्षक ईन्द्रसिङ शेरचनले काभ्रे भिरको पहिरो पन्छाएको जानकारी दिनुभयो । उहाँका अनुसार लाटोखोला, जलथले र तातोपानीको पहिरो पन्छाउन डोजर परिचालन गरिएको छ । सबै ठाउँको पहिरो पन्छाउने काम नसकिएसम्म सिधा सवारी सञ्चालन हुन नसक्ने शेरचनले बताउनुभयो ।

सडक अवरुद्ध हुदै म्याग्दीको अन्नपूर्ण गाउँपालीका र मुस्ताङका बासिन्दा, मुस्ताङ भ्रमणमा जाने र फर्कने पर्यटक तथा तिर्थयात्री समस्यामा परेका छन् । ६७ किलोमिटर दुरीको बेनी जोमसोम सडकको बेनी पोखरेबगर र घाँसा जोमसोम खण्डमा भने सवारी सञ्चालन भैरहेको छ ।