जिम्बु टिप्ने क्रममा शंकास्पद वस्तु पड्किएर म्याग्दीका चार ४ युवा घाइते

  • १८ श्रावण २०७९, बुधबार
  • 4447 पटक पढिएको

म्याग्दी १८ साउन । जिम्बु टिप्ने क्रममा शंकास्पद वस्तु समात्दा म्याग्दीका ४ युवा घाइते भएका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङ माथिको प्याङ भन्ने उच्चलेंकको ओढारमा मंगलबार बेलुका करिब ५ बजेतिर जिम्बु खोज्न जाने क्रममा शंकास्पद वस्तु भेटिएको र त्यसलाई के रहेछ भनी खोल्ने क्रममा अचानक पड्किएर ४ जना युवा घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

विस्फोटक पदार्थ पड्किएर घाइते हुनेमा म्याग्दीको मालिका गाउँपालिका –३ डाँडागाउँका का २२ वर्षीय रेस रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्षीय दिलिप रोक्कामगर घाइते भएको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार वारागुङको तेताङ लेंकमा जिम्म टिप्न गएका युवाहरु विस्फोटक पदार्थ पड्किएर घाइते भएको र उनहरुलाई जोमसोम अस्पतालबाट थप उपचारका लागि पोखरा रेफर गरिएको जानकारी दिनुभयो

जिम्बु टिप्न गएका युवाहरु अचानक घाइते भएर जोमसोम अस्पतालमा ल्याएपछि वारागुङ प्रजिअ शर्मासहित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नाम्गेल गुरुङ र सुरक्षाकर्मीको टोली अस्पताल पुगेको थियो । घाइतेहरुको थप उपचार गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गाडीको समन्वय गरेको प्रजिअ शर्माले बताउनुभयो ।

यस्तै,घाइतेका बाटो खर्चका लागि वारागुङ मुक्तिक्षेत्रले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको प्रजिअ शर्माले जानकारी दिनुभयो । घाइतेहअरुको हात, खुट्टा, अनुहार र शरिरका विभिन्न भागमा चोट पुगेको छ । यता,जिल्ला प्रहरी कार्यालय मुस्ताङले बुधबार बिहानै ईलाका प्रहरी कार्यालय छुसाङमा कार्यरत प्रहरी ईञ्चार्ज प्रहरी नायव निरीक्षक पदम् राना नेतृत्वको टोली थप अनुसन्धानका लागि घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ ।