पश्चिम म्याग्दीको यातायात बाढी पहिरोले प्रभावित

  • १९ असार २०७४, सोमबार
  • कमल खत्री
  • 3707 पटक पढिएको

म्याग्दी, १९ असार । बर्षासंगै बाढी पहिरोले म्याग्दीको पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । अबिरल बर्षाले सडक माथिबाट पहिरो र बाढीले बेनी–दरबाङ सडक खण्डको विभिन्न ठाउँको सडक अबरुद्ध हुन थालेको हो । सडकखण्ड अन्र्तगत फापरखेत र सिमलचौरको कस्केरीमा पटक पटक सडक अबरुद्ध हुन थालेको छ ।


सिमलचौर, मिठौला–खानीगाउँ– पूर्णगाउँ सडकमा नयाँ विस्तार गरिएको सडकको माटो बाढीले बगाएर ल्याएको कारण सडकमा सवारी आगमनलाई प्रभावित बनाउन थालेको छ । सडकमा हिलो माटो थुप्रिएपछि आईतवार दिनभर यहाँ सडक अबरुद्ध बनेको थियो ।


जिर्ण सडकमा सवारी अबरुद्ध हुने समस्याले सवारी चालक संगै यात्रुहरु समेत समयमै गन्तव्यमा पुग्न नसक्ने, सवारी परिवर्तन गर्नुपर्ने बाध्यताले हैरानी व्यहोर्न बाध्य भएका छन् ।बर्षात सुरु भएपछि बेनी–दरबाङ सडक खण्ड अन्र्तगतका खोलाहरुमा बढेको पानीको सतह , ठाउँ ठाउँमा खस्ने पहिरो तथा खाल्डाहरुको कारण सडकमै बनेका हिलाम्मे तलाउहरुले सार्वजनिक सवारी चालक संगै मोटरसाईकल मार्फत आवतजावत गर्नेहरु समस्यामा पर्न थालेको मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले बताउनुभयो ।


उहाँका अनुसार बेनीदेखि दरबाङसम्म विविध समस्याका बाबजुत सवारी सुचारु भईरहेपनि दरबाङदेखि ग्रामिण सडकमा गुड्ने सवारी साधन पूर्ण रुपमा अबरुद्ध बनेको छ । दरबाङदेखि माथिका ग्रामिण सडकहरुमा बाढी पहिरोले सडकमा क्षेती पुगेपछि ति सडकहरु अबरुद्ध बनेका हुन् ।


दरबाङदेखि सवारी साधन सञ्चालन हुने ताकम हुँदै मुना सडक, निस्कोट सडक, ओखरबोट हुँदै सोले सडक, देविस्थान सडक, बिम सडक, दिच्याम लगायतका ग्रामीण सडक पूर्ण रुपमा अबरुद्ध बनेका छन् । कतिपय सडकहरुमा अबरुद्ध बनेको बाढी पहिरो पन्छाएर सवारी सुचारु गरेपनि पुनः हुने बर्षाले यातयात सेवा प्रभावित बनेको गाउँपालिका प्रमुख रोकाले बताउनुभयो । उहाँले आगामी बजेटमा बर्षातमा हुने सडक अबरोधलाई तत्काल खुलाउने र मर्मत गर्ने गरि बजेटको व्यवस्थापन गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l